आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ।
रातको झिसमिसे उज्यालो, पूर्णिमाको रात आउन निकै रात बाँकी थियो। मेरा हातहरु सर्बप्रथम कुखुराको खोरका ढोकाहरूमा पुगे। ताल्चा यथास्थानमा नै पाए पछि म पुन: बिस्तारामा नै फर्किएँ ।
सूर्यदेवको दर्शन पाउन निकै समय बाँकी थियो। तैपनि मंसिरको बेला धान थन्क्याउन जानु पर्ने हो । म यही कुरासँगै हराइरहेको थिएँ । "फाँट पुरै फूकार भइसक्यो। " बाले हिजो भन्नु भएका कुराले त्यसको अर्थ बुझ्न मलाई गाह्रो भएन। गएको बर्ष मंसिरमा परेको असिनाले पूरै धान सखाप पारेको थियो। साउन भदौको ठूलो हावाहुरीले बगैंचाका सुन्तला रित्तै परेको थियो। यस बर्ष म मेरा कारण धानको नाश हुन दिन्न। यहि सोच्दै म डोरा नाम्लो लिएर फाँटतिर ओरालो झरेँ ।
सुन्तलीलाई निहिन उठाउन बोलाएको त्यो नि आइन । जुनकिरीको धिपधिप उज्यालोसँगै झरेको ओरालीको किन किन आभाषमा अर्कै थियो। मादी नदीको सुसाहट कता कता बिरानो लाग्दै थियो। लाटोकोसेरोको बिरह लाग्ने आवाज थिएन, झ्याउँकिरी को झ्याउँ झ्याउँ बन्द थियो। मनमा कता कता छटपटि र अनौठो तडपको आभाषसँगै म ओरालो लाग्दै थिएँ ।
अनकन्टार मरुभूमिको बिचमा लामबद्ध गाडीहरू, अनि तिनीहरूको प्याँ प्याँ आवाजले म ब्युझिएँ । म त्यतिबेला करपुटारको फाँटमा ओरालो लाग्दै गरेको रहेनछु, स्यास्त्रीबाट काफलटारको बाटो ओरालो लाग्दै पनि रहेनछु, म त अमेरिकाको पुरानो मरुभूमि र अहिलेको प्रगतिको शिखर चढ्दै गरेको टेक्सास राज्यको सडकमा दौडिरहेको थिएँ।
Saturday, November 1, 2008
सपना
कथा -इन्दु शर्मा
"सपना "