Sunday, June 21, 2009

तैपनि आज निंद्रा परेन

तैपनि आज निन्द्रा परेन !

सायद प्रतिक्षा थियो कसैको
कोहि भेट्ने चाहना थियो मनको
निस्पट्ट छ रात सुनसान छ परिवेश
तैपनि आज निन्द्रा परेन

सायद सम्झना थियो बिगतको
कल्पना थियो भविष्यको
लाटोकोशेराहरू प्रहर परिवर्तनको संकेत गर्दै छन्
तैपनि आज निन्द्रा परेन

सम्झन्छु देश रोएको छ
रत्नपार्क र शिंहदरबार त्यसैको खिल्ली उडाउंदैछ
बिस्तारामा पल्टेकै घन्टौ भयो आँखा पट्ट्याइरहेछ
तैपनि आज निन्द्रा परेन

प्रयास नगरेको पनि होइन
चितवनको भण्डारामा जलेको आशा ब्युझाउने
त्यहि आशा मडारिएको होला मनमा
घडीको एकोहोरो टिक टिक आवाज नि:शव्द बन्दैछ
तैपनि आज निन्द्रा परेन

न्यानो काख,चोखो स्पन्दन जहाँ मेरो भाव अटाओस
मिठो आत्मियता,विश्वासको सामिप्यता जहाँ मेरो चाह मडराओस
बिरानो संसार व्यर्थ कल्पना ........................
रोशनीले क्षितिज नियाल्ने बेला भैसक्यो,
थकित शरिर पल्टेकै छ बिस्तारमा
तैपनि आज निन्द्रा परेन