Custom Search

Saturday, May 22, 2010

आज पिउने निर्णय गरें !!

धेरै दिन पछि आज पिउने निर्णय गरें !
एक्लै भए पनि आँफू जिउने निर्णय गरें
तिमीमा हराउदै बाँच्न खोजे तर पाएँ चोटै चोट
त्यहिँ चोट सहेरै आज जिउने निर्णय गरें
तिम्रो अधरका प्याला पिई रम्छु भन्ने गर्थें
बिष भेटें अधरमा तिम्रो नपिउने निर्णय गरें
मेटाउदै प्यास नसाले जिउने निर्णय गरें
सहज तिम्लाई बिर्सन भनी पिउने निर्णय गरें

Thursday, May 20, 2010

सहयात्री !

झुल्के घामको ऐना सरि चम्केऊ तिमी वरि परि !
वसन्तको बहार सरि झुल्येऊ तिमी संधै भरि !
सप्तरंगी इन्द्रेणीका रङ्ग दियेऊ मनै भरि !
लालिगुरांश फूलजस्तै फूल्येऊ तिमी बनै भरि !
मनै भरि तिमी तिमी बनै भरि पनि तिमी !
हाँसो खुसि जे बांडेनी तिम्रै साथ् संधै भरि !

Tuesday, May 18, 2010

हजूर !

मुटुको कुना कुनामा छाया हजुर को !
नसानसा रगतमा माया हजुरको !
चन्चले ति आखा चुलबुले त्यो बानि
कल्पनामै भएपनि मिठो साथ हजुरको!!

Sunday, May 16, 2010

तिम्लाई सजाई दिम्ला !!!

आँखा हेर्दा नजरमा तिमी नाच्न थाल्छेउ
आँखा चिम्ले अधरमा तिम्ले चुम्न थाल्छेउ
मनभरी केवल तिम्रो माया मात्र रह्यो
माछापुच्छ्रे भित्र तिम्रो छाँया मात्र रह्यो
एकान्तमा संधै संधै तिम्रो साथ खोज्छु
बादलको आकृतिले तिम्रो प्यास मेट्छु
चन्द्रमा झैँ मुहार लिई चाँदनी झैँ हास्छेउ
मनमा माया छ कि छैन बाहिर रिस साच्छ्यौ
नदि जस्तै मेरो माया तिम्लाई बहाई दिम्ला
छाडी गए छाती भित्र तिम्लाई सजाई दिम्ला !!!

Saturday, May 15, 2010

अहो भाग्य !!

माया दिनु अभिसाप रे पाउनु अहो भाग्य
दिल दिनु हुदैन रे चोर्नु अहो भाग्य
नदि जस्तै माया पनि तल तिरै बग्छ
मिल्नु थियो एक दिन मिल्यौ अहो भाग्य
हिजो सम्म संगै थियौ आज छुटी गयौ
छुट्नु थियो एक दिन छुट्यौ अहो भाग्य
सम्झना ले संधै भरि सताउने पो थ्यो कि ?
जली सक्यो आत्मा जति बिर्से अहो भाग्य !!!

Monday, May 10, 2010

प्रतीक्षा

एकान्तमा न्यास्रो मानी बिरानीमा भुलिरदा
तिम्रो छाया मुटु भित्र कुनाकानी डुलिरदा
आउन्न भन्छेउ सपनीमा छाती भित्रै लुकी लुकी
परेलीमा बसिदिन्छेउ निदरीलाई ढुकी ढुकी
ओठभरि मुस्कान छरी रोशनी झैं बलिदिन्छेउ
पूर्णिमाको जून सरि तारा विच सजिदिन्छेउ
तिम्लाई भेट्ने दिन खोज्न भित्ते पात्रो केरी राछु
सप्तरंगी माला उनी तिम्रै बाटो हेरी राछु

Wednesday, March 31, 2010

ग़ज़ल

न हातमा फूल लिएँ ,न सजाएँ थाली
कल्पनामै पिटीरहे भावनाको ताली
भाकी भाकी देवी देउता तिम्रो खुसी मागिरहे
इन्द्रेणीको माला ऊनी तिम्रा लागि कुरिरहे
न त आयौ तिमी उडी न त हिंडे मनै पनि
स्वप्ना भित्रै भएपनि रमिरहें दिनै भरि !

Saturday, January 2, 2010

आमा म कपूत पुत्र हूँ !

आमा म कपूत पुत्र हूँ
तिम्रो कोखमा लुटपुटी खेल्दै
तिम्रा फरियाको घुम्टो भित्र लुक्दै
मेरा बितेका बाल्यकाल अब म सम्झना गर्न चाहन्न
किनकि अब म ठुलो भएको छु
तिम्रो कोखको ममतामयी न्यानोमा लुक्ने म
आज तिमि भित्र बासना देख्दै छु
आमा म तिम्रो ममतालाई बलात्कार गरेर कपूत बन्न चाहन्छु
किनकि ?
जुन परिवेशमा तिमीले मलाई जन्माएउ
जुन धरातलमा तिमीले मलाई "ताते ताते " गर्दै हिड्न सिकाएउ ,
त्यो धरातल त कपूत हरुको कर्तुतले भरिएको रहेछ
कपूतहरुको -"बलिदानी "? रगत ले भरिएको रहेछ
तिमीले सिकाएको "लंगडाको देसमा गोडा उचाल्नु !"
भन्ने उक्ति चरितार्थ गर्न आमा म पनि कपूत बन्दैछु
तिम्रो अस्मिता र पवित्रता लाईखुलेआम सडकमा पसल थापेर बेच्ने प्रयास गर्दै छु
बहादुर बुबाको आज्ञाकारी छोरा बनेर
आमा म कपूत बन्दैछु
न मलाई तिम्रो सिन्दूरको मतलब छ
न मलाई मेरो बाबा को पौरख को सम्झना छ
मलाई त एउटा मात्र "स्यालको हुइयाँ" थाहा छ
त्यहिँ हुइयाँ संगै म तिम्रो पवित्रता अनि अस्मिता को व्यापार गर्दै छु
( फेसबुक )

Monday, December 28, 2009

ग़ज़ल !

बाच्नु पर्ने रैछ जसै -आशु पिई बाचेकै छु
मिलनका सारा याद छाती भित्र साचेकै छु
मर्न बरु प्यारो थियो जीवन ज्युन आटेकै छु
बल्या आगो फेला पर्दा मैले पनि तापेकै छु
भेट हुँदा तिमीसंग मनको व्यथा बाडेकै छु
त्यान्द्रा त्यान्द्रा बटुलेर आशा डोरी बाटेकै छु

Sunday, December 27, 2009

तिम्ले सजाए !



तिम्ले सजाए सजाउ आफ्नै सम्झेर सजाउ,
सिरमा सिर्फूल झैँ सजाएनी हुन्छ ,
सिउँदो मा सिन्दूर बनेर हास्न पनि सक्छु
ओठको लाली होस् या अधर को कान्ति होस्
जहाँ म सुहाउछु तिम्रो लागि
म माया बनेर मुटुमा धड्किन सक्छु ,
म ममता बनेर छातीमा लुकामारी खेल्न सक्छु ,
मलाई अप्ठ्यारो छैन तिम्रा नाडिमा चुरा बनेर सजिन
मलाई आपत्ति छैन तिम्रा गोडामा पाउजू बनेर लटकिन
जहाँ म अटाउछु तिमी भित्र
म तिम्रो निस्वास बनेर तिमीमा बिलाउन सक्छु ,
म तिम्रो स्वप्न बनेर निन्द्रा मा टोलाउन सक्छु ,
मात्र तिम्रो चाहनामा ,
तिम्रो जिउने आधार बनेर जिउन सक्छु
सप्त रंगी इन्द्रेणी बनेर रङ्ग छर्न सक्छु
तिमी संगै तिम्रो जीवन साथी बनेर ज्यून
जनम जनमको साथ निभाउने कसम खान सक्छु

Saturday, December 26, 2009

गजल

रात भरि तिमी संगै सपनीमा भुलिराछु
लक्ष छैन कुनै यौटा यता उति डूलीराछु
मौलाएको मुना न हो कोपिला भै फूल फूल्ने
दोबाटोमा अलपत्र गन्तब्य लाई कुरीराछु
बुँद बुँद सगाल्दै छु सागर को कोसेली यो
उड्दो चरी समातेर पिंजडामा थुनीराछु
मन भित्र संगाल्ने हो पिरतीका याद हरु
मनै छैन आज भोलि सबै कुरा भुलिराछु

Wednesday, December 16, 2009

शहीद फर्केर आऊ !

न सक्छु भन्न तिमीलाई पिडा छाती यो चिरेर
न सक्छु ज्यून बितेका दिन अतित बिर्सेर
राष्ट्रका खांतिर मर्नु नै थियो -मारेर गयौ रे
अमर भन्ने उपाधि भिरी-शहिद भयौ रे
ब्युझ्याउछु भन्थ्यौ यो देश सारा-अध्यारो हटाई
जगाउछु भन्थ्यौ सुतेका सारा मादल ठटाई
सुकेर गए छहरा छाँगा सुस्केरा छर्दैनन
रहेनन् अब डाँफे र मुनाल बेसीमा झर्दैनन
तृष्णा ले सक्यो मोहले तान्यो सर्बत्र जनलाई
कुद्रीष्टि पर्यो बैरीको यहाँ पवित्र मनलाई
भूइंचालो आयो देशमा आज ढल्दैछ हिमाल
नेपाल भित्रै पराई जस्तो बन्दैछ नेपाल
गैंची र बेल्चा हातमा छैनन् बन्दुक चल्दैछ
बमका छिर्का गर्वमा धसी नेपाल गल्दैछ
बनेर तिमि आँखाको नानी धर्तीमा आउन
पर्खन्छु संधै मन मेरो बिछाई फर्केर आउन
पुकार सुनी फर्केर आऊ नेपाली ब्युझ्याउन
हातमा हात मिलाई हिडौ यो देश उठाउन
बिन्ति यो सुनी शहिद तिमी फर्केर आउन
धर्तिको स्वर्ग नेपाल आमा भनेर गाउन

Sunday, November 29, 2009

आस्था..............


बिदाईको बेला पाइन मैले हल्लाउन हात यी
खोटो पो छ कि ? कर्म यो मेरो शंका पो लग्यो नी
मनको ईक्षा दैवले हेर्छन भन्थे नी बाबाले
आशिर्बाद दिदा ताकेको पुगोस भन्थिननी आमाले
कोइलीका गीत गुन्जन छाडे वर्षा पो लग्यो कि
दिलको दैलो उघार्नै थियो अग्लो पो लग्यो कि
सन्ध्याको बेला आरति गर्छु इश्वर भाखेर
फर्केर आऊ यात्रा त्यो सकी पिरती साँचेर
सरिता जस्तै उर्लेर आऊ किनारा छुनलाई
आस्था कै भर प-या छु म त बिरह धुनलाई !!

Sunday, November 22, 2009

जलाशय र प्रतिबिम्ब !

जलाशय र प्रतिबिम्ब





म एउटा शान्त तलाउ
मात्र म जलाशय
सरिता मेरी सहेली
पद्मिनी मेरी सहयात्री ,मेरी सह -अस्तित्व
एउटा यात्री किनारै किनार सयल गर्दैछ ,
मेरी सरितालाई जिसक्याउछ
पद्मिनी को सुवास ,मन्जरी को सुगन्ध -उ तृप्त देखिन्छ
हुन सक्छ गन्तब्य अन्यत्र कतै
........................अनिश्चित
पुर्णिमाको रात, जुनेली तरङ्गहरू तैरिरहेकै छन्
यात्रीको प्रतिबिम्ब मेरो छाती भित्र खेलीरहेछ
यात्रीको प्रतिबिम्ब आफ्नै तरङ्गमा प्रवाहित गर्छु
मेरी सहयात्री मै संग छन् ,मेरी सहेली मेरै साथ छन्
अनायासै मेरा तरंग बिचलित बन्छन
बिश्रीन्खलित दौडाइ संगै अघिको प्रतिबिम्ब खोज्न
प्रतिबिम्ब जुन झैँ अस्ताएछ ,शित झैँ बिलाएछ
मात्र प्रतिबिम्ब को प्रतिबिम्ब मेरो गर्भाशय भित्र लुकेछ .

Monday, November 9, 2009

अभिषप्त जिन्दगीको मजै छ अर्कै

अभिषप्त जिन्दगीको मजै छ अर्कै
सागरको पानीलाई २ थोपी बिषले के गर्छ र खै ?

न भोक न तिर्खा न निन्द्रा न त प्यास
अभिषप्त जिन्दगीको मजै छ अर्कै

न कसैको माया न ममता को बन्धन
अभिषप्त जिन्दगीको मजै छ अर्कै

न बोलीले पोल्छ न झोली नै खुल्छ
अभिषप्त जिन्दगीको मजै छ अर्कै

२ घुड्की व्हिस्की सुकुटी संग ,टरेकै छ साँझ
अभिषप्त जिन्दगीको मजै छ अर्कै

Thursday, November 5, 2009

म तिमीलाई प्रेम गर्दिन !!!

यदि प्रेम तिम्रो भावनाको कदर हो भने
म तिमीलाई प्रेम गर्छु
म तिम्रो भावनाको कदर गर्छु 
तिम्रो ईक्षा र चाहनाको सम्मान गर्छु 
तर ,तर म तिम्रो पूजा गर्दिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम यदि सहयात्रा हो भने
जीवनका हरेक उकाली ओराली हरूमा तिम्रो साथ हुन्छु
अनि भन्छु म तिमीलाई प्रेम गर्छु
तर म तिमिसंग स्वप्नाको स्वर्गमा वायु पंखी घोड़ा लिएर उडदिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम समर्पण रे त्यसैले म तिमीलाई प्रेम गर्छु
किनकी ? म मेरो जीवन ,खुसी र उमंग तिमीमा समर्पण गर्छु
तर ,प्रेमले दियौ भन्दैमा
विष पिएर म मेरै जीवन को समर्पण गर्न सक्दिन
त्यसैले म तिमीलाई प्रेम गर्दिन
सिँउदोको सिंदुर माग्छ्यौ भने
एक चिम्टी रंग प्रेमले लगाइदिन सक्छु
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर मेरै शरीर काटेर तिम्रो सिँउदोको रंग बन्न म सक्दिन
सायद म तिमीलाई प्रेम गर्दिन
शिरमा शिरफूल म दिन सक्छु तिमीलाई
बगैंचाका फूलहरू टिपेर
मलाई पर्बाह छैन मालीको गाली
अनि कांडाको घोचाई
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर तिमी सप्तरंगी इन्द्रेणी लाई गलामा सजाउन चाहन्छ्यौ भने
म त्यों चाहना पूरा गर्न सक्दिन
किनकी ? 
सायद म  तिमीलाई प्रेम गर्दिन !!!

Thursday, October 22, 2009

ग़ज़ल

खोटोसिक्का सरि भा-छु जिन्दगीको मोड भरि
सम्झिएर रुनु पर्ने अतीतलाई घरि घरि
घाऊ लाग्यो मुटु भरि मन भरि चोट पर्यो
त्यहि चोटले छट्पटिदै रोइ रा-छु सँधै भरि
दोबाटोमा तिमी आयौ बोलाएको थेन क्यारे
तिमीसंगै हिड्छु भनी सपना देखें थरि थरि
छाडेऊ हात तिम्लेपनि दोष नाना लगाई लगाई
त्यहि दोषको रापले होला जलिराछु सँधै भरि
माग्यौ तिमीले दिएँ सबै भए भरको रित्तो पारि
जाने बेला किन कुन्नि आखाँ थिए भरि भरि !!!

Thursday, October 15, 2009

आमा म पनि देश चलाउँछु !

बिनीता ढकाल
जनताले तिरेको करमा मस्ती गरेर ,
आफ्नो खल्ती भर्न ,
आमा! म पनि देश चलाउँछु
जनता छिंडिमा बाँच्न विवश भएपनी
आफ्नो महलको उचाइ बढाउँछु
आमा! म पनि देश चलाउँछु।
बिकासका निम्ती छुट्याइएको बजेटले
बिदेश भ्रमणमा जान पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराले साइकल नदेखेपनि
मेरो छोरालाई पजेरोमा घुमाउँछु
आमा! म पनि देश चलाउँछु।
आश्वासनका भाषण दिएर,
सत्तामा कब्जा जमाउन पाए
आमा! म पनि देश चलाउँछु
डिग्री पासका सर्टिफिकेट
जलाउन जनता विवश भएपनि
नि।मा।वि पास
भान्जालाई भन्सारको अधिक्रित बनाउँछु
आमा! म पनि देश चलाउँछु।
राष्ट्रिय सम्पत्ति बेचेर घरखर्च चलाउन पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराछोरीले शिक्षा नपाएपनि
आफ्ना सन्तानलाई बिदेशमा पढाउँछु
आमा! म पनि देश चलाउँछु।
विदेशी अनुदानलेछोरीको कन्यादान गर्न पाए
आमा! म पनि देश चलाउँछु
गरिबीको पराकाष्ठामा देश पुगेपनि
आफ्नो कमिसनको रेट बढाउँछु
आमा! म पनि देश चलाउँछु
आमा! म पनि देश चलाउँछु!!!!

Friday, October 9, 2009

केवल एउटा श्रृजनाको लागी

दिमागमा भएका सबै शब्द चाङ्ग मिलाई मिलाई
एक शब्द समीकरण बनाउछु
शब्द भण्डार अलि संकोचित बनेको छ आज भोलि
सायद भावना संगै बग्ने मन कतै अल्झेको छ
मनको डोरी माया बनि बल्झेको छ
अनि शब्द समीकरण परिवर्तन गर्न खोज्छु
शुत्र र शिद्धान्त हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
तल्लिन हुन्छु ,समर्पित हुन्छु
सँधै प्रयत्नशिल
एउटा श्रृजनाको लागि
शब्द कोषका पानाहरु विचरण गर्छु
प्रतिक र बिम्बले श्रृजना सिंगार्न मन लाग्छ
श्रृजनै श्रृजनाको खात लगाएर बिसिस्ट बन्न मन लाग्छ
तैपनि खै किन हो कुन्नि मनको तस्विर मनमै रहन्छ
तस्विर संग मिल्ने कुनै शब्दै भेट्टाउन्न
मानौ शब्दकोषमा भएका शब्द हरु मनको तस्विर संग सुहाउन्नन
अझ भनौ कुनै त्यस्तो शब्दै छैन जसले मेरो मनको प्रतिबिम्बको बर्णन गरोस
न उनको सुन्दरता न उनको स्वच्छन्दता
बिना अर्थ शब्दकोशका पानाहरु शिथिल बनाउछु
बिना प्राप्ति शब्द समीकरण हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
केवल उनको बर्णनको लागि
अफसोच
न प्राप्ति न उपलब्धि !!!

Thursday, October 8, 2009

जीवन र दर्शन !!

जीवन एउटा दर्शन हो
जुन प्रतिपादन हुन्छ लागु हुँदैन
समाज
मात्र संरचना
अस्तित्व रित्तिएको अस्तिपञ्जर
बाद र पथ को डोरीमा अल्झिएको सुर्कने गाँठो
जति तन्कन्छ उति कसिन्छ ,उसको बिशेसता नै यस्तै
ऊषाकालिन किरण जस्तै प्रभावशाली छ आदर्श
जसको असर औंशीको निस्पट्टता लाई छिचोल्न खोज्छ
संधै शरदमा बसन्त खोज्छ जीवन
वसन्तमा पनि सुखी छैन ऊ बर्सात चाहन्छ
किन किन सार्है असन्तुस्ट देखिन्छ जीवन ?
त्यहि जीवन जीवन हरुको होलि खेलेर
आदर्श ,समाजमा परिवर्तन ल्याउछुँ भन्छ
अनि जीवन कुन्नि किन त्यहि आदर्शको पछी पछी
असन्तोष बोकेर छाँया जस्तै भौतारिन्छ
म्रिगतृष्णा छरपस्ट बगर भरि बलुवा मा खेलिरहन्छ
खै कस्तो जीवन अनि खै कस्तो आदर्श
उपमै उपमाको बाढी छ
प्रतिकै प्रतीकको पहाड छ
सपनै सपनाको भुमरी छ
आशै आशाको फूलवारी !!!