Thursday, March 5, 2009
प्रतिबिम्ब !!!
घडी चलिरहेछ
म नियालिरहेछु
घडीको बन्दाकृति भित्र मैले देखिरहेछु
उनी मुसुक्क हाँस्दैछिन्
म उनैसँग बोलिरहेछु
उनैसँग हराइरहेछु
अचानक घडीले घन्टी बजाउँछ
मेरो कल्पना भङ्ग गर्दै
उनी शायद लुक्छिन त्यतिखेर
थाहा छैन मेरो नजर्बाट मात्र लुकिन या अन्तस्करणबाटै
म फेरी नियाल्छु उनैलाई खोज्न थाल्छु
चञ्चल मन्भित्र लुकामारी खेल्न थाल्छु
कोठाभरी उनैको प्रतिबिम्बले मलाई गिज्याइरहेछ
शायद लोचनलाई व्यथा लागेछ
सागर छचल्किएछ
उनी फेरी हराइन
कोठाको परिसरलाई तोड्दै
गगन नियाल्न थाल्छु
निस्पट्ट अँध्यारोछ
पुरै आकाश कालो बादलले ढाकेकोछ
बादलले यस्सो परेली झिम्क्याउँछ
मेरी शशिले संसार चिहाउन खोज्छिन
मुसुक्क हाँस्छिन्
म त रोइरहेछु
आँशु पुछ्दै उनको हाँसोमा हाँसो मिलाउन खोज्छु
बिजुली चम्कन्छ, मेघ गर्जन्छ
कल्पना तोडिदिन्छ
कल्पनाको बिस्फोटनसँगै कोठाभरी अन्धकार छाउँछ
बाहिर पानी पर्न थाल्छ
शायद मन अति नै रोएछ क्यार
अश्रुधारा धेरै बगेछ
घडीभित्रको प्रतिबिम्ब
क्षितिज पारी पुगी हराएछ
अत्रिप्त मनसँगै मेरो घडी भोकाएछ
ऊ त लुपुक्क निदाएछ
शायद उसलाई चोट परेछ, आघात परेछ
सहनकै निम्ती आँखा चिम्लेछ
आफुसँगै मेरी मायालुको
प्रतिबिम्बलाई पनि विलिन बनाएछ ।
***
इन्दु शर्मा