Custom Search

Wednesday, March 30, 2016

गजल ।

चाहेर पनि हजार चोटी 
              म तिम्रो मान्छे हुन सकिन । 
जलेर छाती खरानी हुंदा 
             म तिम्रो याद मेट्न सकिन । । 

नरूनु भन्थेऊ पुछेर आंशु 
              म मेरा आंशु सुकाउन सकिन । 
जलेर छाती खरानी हुंदा 
             म तिम्रो याद मेट्न सकिन । । 


हॉसौ भन्थेऊ बॉडेर खुसी 
            म तिम्रा दुख छिपाउन सकिन ।
जलेर छाती खरानी हुंदा 
             म तिम्रो याद मेट्न सकिन । । 


मनले मान्यो आफ्नै बन्यौ 
           आफ्नो पन मैले निभाऊन सकिन । 
जलेर छाती खरानी हुंदा 
             म तिम्रो याद मेट्न सकिन । । 



Friday, June 5, 2015

......तिम्लाई म त ।

पूर्णिमाको जूनजस्तै राम्री देख्छु तिम्लाई म त ! 
ईन्द्रेणीका रंगजस्तै रंगीन देख्छु तिम्लाई म त ! !
एउटै फूल फुल्दा पनि बगैंचा नै हरा भरा ! 
आँखाभित्र लुकाईराखुं जस्तो लाग्छ तिम्लाई म त ! !
कति हेरूं तिम्रो रूप थाक्लान् बरू आँखा हरू !
छाँयां सरि यता-उता खोजौं लाग्छ तिम्लाई म त ! !
न भोक हो केहि खाँऊं न त तिर्खा पानी पिऊं !
आफ्नै सम्झी मनभित्र बस भन्छु तिम्लाई म त ! ! 

Thursday, November 27, 2014

अव्यक्त आकांक्षा

अव्यक्त आकांक्षा

        दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर  ड्युटी अनि बेलुका पसल ।
       पत्रिका पसल भएर होला ग्राहक को घुइंचो  नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश : स्थापित र बिस्थापित जान्छन ।पसलमा एक्लै कल्पनाको संसारमा दिवा घटनाहरू मडारिन्छन । मेरो मानसपटलमा स्थापित भैसकेको एउटा अनुहार मेरो दृष्टिमा पर्छ ,क्रमश समिपमै खडा ।  ऊ मेरो पसलको नियमित ग्राहक ,मेरो मनको भोक ,आँखाको तृष्णा साथै कल्पनाको सहयात्री पनि । टिनिन्न टेलिफोनको घन्टी बज्छ ,"हेल्लो " म मेरो आत्माको परमात्मा भेटे झैं हुन्छु , काँपिरहेका ओंठबाट हजार शब्द एकैपटक निस्किए जस्तो लाग्छ । म तिनै शब्दका पदचाप खोज्दै जल तरङ्गमाथि तैरिरहेकी हुन्छु।
           म आफ्नो स्ट्यान्डर्ड उसंग तुलना गर्न पुग्छु ,कलेटी परेका ओठमा केस्रा केस्रा केलाउन थाल्छु ।बाकसमा थनक्याइएका कागजका खोस्टा धमिराले खादै गरेको देख्छु ,उ संगका कम्प्यारिजनमा म कम्जोर हुन्छु ,आफ्नो गतिशिलितामा अनि प्रक्रियामा उसलाई आँफू संगै हुत्याऊन मन लाग्छ । साच्चिनै उसको भोक जागेछ ।

  मेरो मनमा उसका बारेमा जान्ने / बुझ्ने चासो लिने प्रयास नगरेको पनि होइन ,उपयुक्त समय र परिस्थितिको पर्खाइमा थिएं । उसको चाल -चलन र अचारणले म उसलाई गाउले परिवेशको उपज भनेर निर्धक्क भन्न सक्थे ।उसको र मेरो बिचमा मन मनै अनौपचारिक  हामी भएको दिन गणना गर्ने हो भने आज महिनौ बितिसकेछ तर औपचारिकता भने उ पसलको ग्राहक म पसलकी साहुनी । म मेरो वातावरण संग गर्व गर्छु , तर आत्मियता उसकै प्यारो लाग्छ  सामिप्यता उसकै न्यानो लाग्छ ।म अनविज्ञ छु । हरेक दिन ड्युटी सक्छु अनि हतार हतार पसलमा उसकै प्रतिक्षामा । उसको अनुपस्थिति मा स्वप्निल साथ छ मेरो लागि अनि उपस्थितिमा काल्पनिक ,म चालचल बनिसकेकी छु । सोच्छु उसले हरेक दिन पढ्ने पत्रिका जस्तै मेरो अनुहार पनि पढोस ,हरेक दिन रस्वादन गर्ने साहित्य जस्तै मेरो आत्मियता पिओस ।
      म उसलाइ प्रेम गर्न थालिसकेकी छु । उसको भावना नै बिशाल समुन्द्र जस्तो लाग्छ अनि त्यहि समुन्द्र मा समाहित हुन सरित प्रबाह अंगाल्न पुग्छु । मन भित्र कता कता डर त्रास र छटपटीले सताउन  थाल्छ कतै…………?होइन होइन………त्यस्तो होइन र छैन होला। मनभित्रको मायाको आगो र छटपटी उसको पोल्टामा थनक्याउन मन लाग्छ अनि उसको शितल छायामा बसी निभाउन मन लाग्छ। मेरो दैनिक जीवन चर्या निकै कठिन महसुस गर्छु ,दिनहरु पर्खाल बनेर लहरै उभिदिन्छन ,रातहरु पहाड बनेर लमतन्न सुतिरहन्छन।  ति सबै भन्दा माथि म उसलाई कन्चन र बिशाल हृदय फिंजाएर पर्खिरहेको हिमाल महसुस गर्छु अनि बेगसंग बादल बनेर उड्छु।  अग्ला अग्ला र दाह्रा किटेर बसेका पहाडहरु मेरो अन्तिम बिन्दु बनिदिन्छन।  म फेरि सागरकै निम्ति दौडन बाध्य हुन्छु मन र दृस्टी मात्रै हिमाल सम्म पुर्याएर।  म चिच्याउछु ,कराउछु अनि अकस्मात ब्युझंछु त्यो कहाली लाग्दो दृश्य त सपना पो रहेछ ।

अनायास गम्भीर चेहरामा पिडा देख्छु ,मेरो मुटुको चाप बढिरहेछ ,सम्हालिन्छु  " हेर्नुस न आजको पत्रिका "मलाई उसंग बोल्न  मन लाग्छ । उसको पीडालाई बिभाजन गरेर पिउन मन लाग्छ ,उसलाई पिडा हुने बिष  पिएर म उसलाई शान्त पार्न चाहन्छु ,बरु म मर्न तैयार छु ।" छि कस्तो नचाहिने कुरा खेलेको मनमा पनि " म सम्हालिन खोज्छु ।उ मेरो पसल मा भएको पे-फोन मा नम्बर डायल गर्दै छ । "हेल्लो ! ए काका !" गाम्भियार्ताले उसलाई चुर्लुम्म डुबाएको छ । " भाइ दुर्घटनामा परेर अस्पतालमा छ तपाई………"  शब्द शृंखला टुट्यो ।
म उसलाइ एकै शब्दमा सम्पूर्ण इति वृत्त पस्कन सकिने प्रश्नको बाढी गराउछु। आँखामा टल्पलाएका  आशुका थोपाले पिडा र व्यथा ओकलिरहन्थे।  " भाइ  ……। "एक शब्द पछि अर्को शब्द ओंठ बाट फुत्केन।
  भोलिपल्ट म ड्युटी मा गएँ।  पेसाले सेवानै धर्म हो भन्ने उक्ति ब्यक्त गर्न आग्रह गरिरहेको हुन्थ्यो। मेरो वार्ड  बिरामीहरुका बारेमा मेरा साथीहरु मार्फत बुझ्दै गएँ।  भर्खर अप्रेशन भएर बेहोसिमै लडिरहेको एक बिरामी देख्ने बित्तिकै पसलमा आउने ग्राहकहरुको याद आयो, अनि उसको फोन अनुहार इत्यादि। उस्तै फुस्रो अनुहार अनि पन्हेलो बनेको।  मेरो मनको  साथी कल्पनाको सहयात्रीको भाइ पक्का पनि उही हुनुपर्छ भन्ने अनुमान गरे अनि आफनो दाइत्व र कर्त्यब्यलाई औल्याई अस्पतालकै ओढ्ने ल्याई ओढाई दिए । हरेक क्षण उ मेरो बिशेष निगरानीमा रहन थाल्यो । केहि समय पश्चातनै मरो कल्पनाको सहयात्री हतार हतार भित्र पस्यो ,सरासर उसको भाइ भएको ठाउमा पुग्यो अनि बिरामी को अवस्था ले बिब्हल बन्यो।
उ मलाई देख्ने बित्तिकै भक्कानिन्छ ,मानौ उसको लागि म नै एक आधार हुँ ,म नै एक भरोसा हुँ।  आखिर खोजेको मैले अर्थात् मेरो मनले पनि त त्यहि हो नि हुनत।  म मन मनै फेरि सपनामै हराउछु।  " तपाई नर्स हो , ल सिस्टर उ मेरो भाइ मेरो मुटुको टुक्रा…………………" उ आफ्नो भै प्रति को माया र भावना खन्याउछ।  म उसलाई दुर्घटना हुनको सम्पूर्ण कारण सोध्छु ,थाहा लाग्छ सहर दाइलाई भेट्न आउने क्रममा बसको ठक्कर ले त्यस्तो भएको  रहेछ ।
पेसाको औपचारिकताले म उसलाई सान्त्वना दिन्छु , हरदम सहयोग गर्ने प्रतिबध्दता देखाउछु र साथी हरुलाई उ मेरो आफ्नो मान्छे भएको कुरा ब्यक्त गर्दै बिशेष ख्याल गर्न भन्छु । डाक्टरलाई  उसको राम्रो रेख देख गरिदिन आग्रह र अनुरोध गर्छु ।

समय चलिरहेको छ , प्रक्रिया घुमिरहेको छ ,रुपेश अर्थात् उसको दुर्घटित भाइ अब राम्रो हुदै थियो । मेरो मनभित्रको पिडा ले मलाई झन् झन् पोलिरहेको थियो ,उ प्रतिको मायाले  मन जलिरहेको छ । मायाका का तरङ्ग हरु भावना  रुपी छाल संगै प्रवाहित भैरहेका छन् अव्यक्त आकांक्षाहरु सलबलाइरहेका छन्।  ड्युटी मा मिल्ने फुर्सदको समय उनीहरु संगै बिताउथे कुराकानी मात्र पेसाकै औपचारिकता मा सिमित हुन्थे। उर्लिएका मनका रहरहरू कसरि खोलुं ,? अन्योलमा नै हुन्थे।  मायाको बदला सधै आदर र सम्मान पाउथें। लाग्छ यहि आदर र सम्मान जस्तै माया पाउन पाए।  म उसलाई हर तरह आफनै सम्झन थाल्छु। " म तिम्रै बन्न चाहन्छु दिपेश सम्हाल " भन्न चाहन्छु।  उसको भाइलाई "रुपेश म केवल नर्स होइन  तिम्रो आफ्नै परिवार हुँ  स्वीकार है " भन्न चाहन्थे।     
   अफसोच म संधै असफल।  रुपेश लाइ भोलि डिस्चार्ज गर्नु छ।
आफ्नो कक्षमा बसेर रुपेशकै फाइल अध्ययन गरिरहेकी छु ,उसको स्वास्थ ठिक भैसकेको छ , उ बेडमा शान्त संग बसिरहेको छ ,दिपेश आडैमा उदास तर उत्साहित मनस्थिति मा छ ,म झ्यालबाट उनीहरु लाइ नै नियाली रहेकी छु।  अकस्मात दिपेश म भएको झ्याल तर्फ हेर्छ लाग्यो नजर हरु मिले , अनि आफ्नै पाराले अनुहार भरि मुस्कान फैलियो सायद यस्तै मिठो………………………।
''नर्स दिदी ! मेरो बाबु रुपेश दुर्घटनामा पर्नुभएको यहि अस्पताल मा हुनुहुन्छ कहाँ होला ? यसो हेरिदिनुस न "।रुपेशको नाम लिंदै गरेको नारी आवाज तर्फ हेर्छु ,निकै आत्तिएको मुद्रामा एक सुन्दर युवती मेरो अगाडी उभिएकी थिइन्।  म मौन रहे। मनमा एकै  चोटी लाखौ तरंगहरु तरंगित हुन्छन।  "प्रतिमा !"दिपेशको आवाज ले उनलाई हुत्याउदै रुपेशको बेड मा पुर्यायो। प्रतिमा आखिर को होलिन ? आहा कस्ती नारी सौन्दर्य कि प्रति मुर्ति बिना शृंगार कस्तो खुलेको त्यो रुप ? नाम र रुप कति मिलेको ? सोच्दा सोच्दै रुपेश बेड बाट झरेको झैँ लाग्छ ,उसलाइ त्यति हिडडुल नगर्ने आग्रह गर्ने बहानामा उसको समिप हुत्तिन्छु।  " प्रतिमा ! उहा यहाको नर्स हाम्रो भाइ लाइ कति मायाले उपचार गरिदिनु भयो उहाँ नभएको भए  सार्है अप्ठ्यारो पर्थ्यो हामी लाइ ,धेरै सहयोगी हुनुहुन्छ।  " मेरो परिचय अनि प्रशंसा सुनेको कारण होला मुस्काउन मन लाग्छ।  छाती भित्र बेदनाको ज्वारभाटा चल्न खोज्छ कता कता प्रतिमा को उपस्थिति ले त होइन ? मन आत्तिन्छ।
    " ए साँच्ची नर्स दिदी ! उनी मेरी श्रीमती प्रतिमा।  दिपेश ले प्रतिमा तिर संकेत गर्छ ,प्रतिमा नमस्कार गर्छिन मेरा हातहरु सिथिल बनिसकेका छन् बिना सोंच ,बिना पर्बाह उठे अनि झरे।  मैले अब त्यहाँ बस्नु को कुनै औचित्य देखिन , मैले अर्पेको मेरो मनको बिश्राम मिलेन ,मेरो चौतारी रहेन -रहेन अब देउराली……………।
यतिवेला म उनीहरु संगै भएर पनि नभएकी जस्ती भएकी छु ,तीन जनाको मायाको त्रिबेणी मेरो इर्ष्याको केन्द्र बन्छ।  कति प्रगाड छ दाजु भाइको माया ,श्रीमान श्रीमतीको माया ,अनि देवर भाउजु को माया।  केहि नबोलेर नै सबै कुरा अभिव्यक्ति भैरहेको छ। सोच्दा सोच्दै म त्यहाँ बाट अलप भैसक्छु आफ्नो कक्ष अनि ड्युटी नसकिदै घर पुग्छु। कस्तो बिडम्बना मेरो भाग्यको …………….।
    भोलिपल्ट  ड्युटी जान मन लाग्दैन ,तर फेरि कर्तब्य र दायित्व ले आफै डोहोर्याउछ।  आफ्नो कक्ष मा पुग्ने बित्तिकै देख्छु दिपेश हरु आफ्ना समान हरु सहित बेडमा बसिरहेका हुन्छन।  म अनुमान लगाउछु उनीहरु डिस्चार्ज को तयारी मा छन्।  " दिदी हामीलाई डिस्चार्ज को कागज दियो मात्र तपाइको प्रतिक्षामा छौं , हामी जस्तो गाउँले लाई  यति धेरै सहयोग गर्नु भयो हामी लाइ ऋणी बनाउनु भयो ,दिदी तपाइलाई धेरै धेरै धन्यबाद। "
रुपेश मनभित्र बाट केहि खुसि हरु फ्याक्दै थियो।  दिपेश र प्रतिमा मै तर्फ आउदै थिए।  तीनै  जना समुहिक नमस्कार गर्छन म मौन हात हल्लाई दिन्छु नमिठो हाँसो ओठ भरि छरेर। तीन जना बिस्तारै गन्तब्य तर्फ प्रस्थान गर्छन।  उनीहरु एकै साथ म तिर फर्कन्छन -बिदाइको हात हल्लाउछन।  म उस्तै जडवत उभिइ रहन्छु ,हात शालिक को झैँ ठडिन्छ अनि अनायासै झर्छ। मानौ मेरा अंग प्रत्यंग हरु नै म संग छैनन्।  उनीहरु अस्पतालको गेट बाट ट्याक्सी चड्छन म औफुलाई उनीहरु संगै पाउछु।  रुपेश ट्याक्सीको झ्यालबाट टाउको बाहिर निकल्छ र बिदाइको हात हल्लाउछ पुन: एकपटक।  म मन मनै भन्छु ' रुपेश तिमि चाडैं सबल र सक्षम बन तिम्रो दाजु को आधार बन  ( मेरो आफ्नो  मान्छेको मुटुको टुक्रा ) । क्षण भर मै उनीहरू अलप हुन्छन म जडवत ढोकामै उभिरहन्छु उभिरहन्छु ।  






Wednesday, September 11, 2013

.........साथी ऐनामा हेर !!!


मैले लगाएका जुत्ता लगाएर
मैले हिंडेको बाटो हिंडेर हेर !

मेरा पैतालाका खिल सहेर
मैले गरेको यात्रा गरेर हेर !!

बांच्नु मात्र नियती हो भने
मैले बांचेको जीवन बांचेर हेर !

सहनु जीवनको सीमा हो भने
मैले सहेका वचन सहेर हेर !

स्यालकै हुइयाँ गाउनु छ भने
साथी  साथी ऐनामा गएर हेर !!!

Wednesday, September 1, 2010

तिमी

खोज्दै छु म मनको कुना माया तिम्रो थन्क्याउने
सोच्दै छु म शब्दहरू रुप तिम्रो झल्काउने
कुनै शब्द पाउछु कि त तिमीलाई सुहाउने
कुनै भाव भेटाउछु कि तिमी संग जुराउने
सुन्दर छ्यौ खै के भनुँ उति सुन्दर देख्दिन म
मायालु छ्यौ भनुँ भने मनको कुरा बुझ्दिन म
मुहार को कान्ति भित्र बसन्त को सौन्दर्य छ
अधरमा छरिएको मुस्कान भित्र माधुर्य छ
देख्दिन म यौवनको रङ्ग पनि तिमी भित्र
ममताले भरिएको मिठो साथ छ यत्र तत्र

Thursday, August 5, 2010

अन्जानमा माया बस्यो !!!

अन्जानमा माया बस्यो तिमी संग कति कति ?
बिर्सुं भन्दा सम्झनाले सताउदै अति अति !
घुर्क्याए झैं लाग्छ तिम्ले रिसाएनी घरि घरि
फकाए झैं लाग्छ तिम्ले आखाँ तरी हेरे पनि
आँखामा अटाउछ्यौ छातीमा छिप्छ्यौ पनि
एकै बचन माया साटी क्षण भरमै भाग्छ्यौ पनि !

Wednesday, July 7, 2010

एउटा अर्को होला के र ?

.............एउटा अर्को होला के ?

खुसि पनि तिमीनै हौ म कसरी बाँड्न सक्छु ?
मुटुभित्र तिमी बस्छ्यौ म कसरी दुख्न सक्छु ?
स्वप्ना हरु लथालिङ्ग कल्पनामा छरीएसी !
रित्तो बनें माया सबै तिमी तिरै पोखिएसी !
कर्मै देखि ठगिएको धर्म ले पो गर्ला के र ?
धोकैधोका जिन्दगीमा एउटा अर्को होला के र ?

Wednesday, June 30, 2010

रिसाएझैं घुर्की लाउछ्यौ............................

रिसाएझैँ घुर्की लाउछ्यौ मुख अन्तै मोडी मोडी
छड्के नजर धेरै लाउछ्यौ घुम्टो त्यसै ओडी ओडी
छिपाएर माया मिठो घुम्टो ओडी दिएपछि
लुकाएर माया चोखो रिस पोती दिएपछि
देउता बन्न सकिन मनको कुरा बुझ्न सक्ने
हटाएर घुम्टो तिम्रो ति नयनमा लुक्न सक्ने
रहर मैले धेरै गरें तिम्रो सामु पुग्ने भनी
निस्किएन बोली कैल्यै मनको कुरा खुल्ने गरी !!!

Sunday, June 27, 2010

....................भन्न सक्दिन !!!

माया तिम्रो कति लाग्छ भन्न सक्दिन
जोखी नापी जे गरे नि गन्न सक्दिन
मुटु भित्र धड्कन बनी लुक्यो तिम्रो छाँया
तिम्रो यादमा रुन्छु हाँस्छु भन्न सक्दिन
सजाएर तिम्रो तस्विर मन्दिर बनाई पूजेको छु
धुकधुकी मा तिमी बोल्छेऊ भन्न सक्दिन
चाहनालाई बाँधी बाँधी तिमीसंग हाँस्छु बोल्छु
निस्छल मेरो माया भन्न सक्दिन
पोख्न खोज्छु तिम्रो सामु मन भित्रको माया जति
रिसाउछ्यौ कि तिमी भनि भन्न सक्दिन

Monday, June 21, 2010

अजम्बरी माया !!

संधै संधै सपनीमा तिमी आए हुने
बिरानीको प्यास सबै मेटिदिए हुने
कल्पनामा तिम्रै तस्विर सजाई राख्याछु
मन भित्र तिम्रै माया साँची राख्याछु
छेकिदिने क्षितिज पनि आजै फाटे हुने
प्रतिक्षाको लामो यात्रा आजै कटे हुने
तिम्रै खांतिर यो जिन्दगी कुरी बस्या लाग्छ
अजम्बरी माया हाम्रो संगै गांस्या लाग्छ

Saturday, June 19, 2010

पसिनाको भेल बनी.........

तिम्ले सोध्यौ कहाँ बस्छौ आई
मैले भनें जहाँ राख्छ्यौ सजाई
मुटुमा धड्कन बनाएर राख
आखाँमा नानी बनाएर राख
जहाँ जे बनाएर राख्न मन लाग्छ
कलिगढ़ को मुर्ति सजाएर राख
बोलाएउ तिम्ले नानीमा राख्न
छेकिदियो परेलिले
आँशु बनी झरी गएँ
धड्कन बनाउछु भन्यौ
मुटु भित्र राख्न
पगालिएँ यसै उसै
बगाईएँ नसा नसा
बग्दै गएँ नसा नसा
तिमी भित्रै रमी रमी
पोखिएछु यतै कतै पसिनाको भेल बनी

Monday, June 14, 2010

सूर्य मुखी फूल बनी उसै तिर फर्किदियौ !!!

तिमी हास्यौ दिल खोली मन भरि खुसि थियो
शित बनी प्रित झर्यो तनै भरि बर्सिदियौ
तिमी रोयौ दुख्यो मुटु बेदना ले झर्यो आँशु
ओइलाएको मुना जस्तै धर्ति तिरै फर्किदियौ
लजाएझैं लग्यो मलाई लज्जावती सोची रहें
गुलाब जस्तै बैंश भरि पट्ट तिमी फक्रिदियौ
चिन्दै थिए चौतारी त्यो तिमीलाई राख्ने भनी
सूर्य मुखी फूल बनी उसै तिर फर्किदियौ !!!

Wednesday, June 2, 2010

ग़ज़ल


टुलु टुलु हेरी रहें तिमी आउने बाटो कुरी
आयौ पनि तिमी उसै गयौ अनि रोपी छुरी
पर्खेको थें माया लिई फ़ूकाउनलाई तिम्रो सामु
एकै नजर हेरी मार्यौ कलेजीमा रोपी छुरी
अछुत जस्तै बनाई गयौ सिस्नो थेन हातभरी
छोटटिनु त परै जाओस लम्बिदै गो हाम्रो दुरी
यसै उसै थाकेको थें उकाली त्यो चड्दा चड्दै
पहिरो बनी बगाई दियौ देउराली नै लग्यौ पुरी

Sunday, May 30, 2010

तिमी ,फूल अनि जून !!!

न तिम्लाई फूलसंग दांजु
न तिम्लाई जूनसंग दांजु
फूल फुल्छ बोट काँडाले घेरी
जून लुक्छ गगन बादलु पारि
संगै छ्यौ तिमी लुकेर बस्छ्यौ
मुटुको कुनामा
छामेर हेर्छु धड्किदै भाग्छ्यौ
रगत झैं नसामा
न फुल्छ्यौ तिमी फूल झैँ फक्रि
हास्छ्यौ जूनझैं
बनेर बस्यौ अभिन्न तिमी
जीवन धून झैं
त्यो बोलि तिम्रो मधुर लाग्छ
जीवन रङ्ग झैँ
मुस्काउछ्यौ तिमी बसन्त जस्तै
हेर्छु दङ्ग भैं

Tuesday, May 25, 2010

माइली भाउजूको सिंधूर !!!


भर्खर निन्द्रा देवीको काखमा पल्टेको मात्र थिएँ
मिर्मिरे प्रकाशमा लत्पतिएको लाली लिएर
मेरो सर्बांग चुम्दै दौड्छे रोशनी
म लाजले भुतुक्क बनेको हुन्छु ,
ओइलाएको मेरो अनुहार कांपेका मेरा हातगोडा
सोकेश अगाडी लरबराई रहेका हुन्छन
(काँ काँ ............... )
(सुबोल सुबोल..................)
कागको नमिठो अट्टहास संगै फुत्केका मेरा बोलीहरू
बिर्खे दाई हलो काँधमा बोकेर झरीसकेछन
माइली भाउजू डल्लेठाँले डल्ला फोर्दै छिन
(आज मकै नछरी भएको छैन )
ऊनको योजना !
"ड्यांग ............... "
ऐनाको प्रतिबिम्ब लाई गिज्याउदै बसेकी -सुन्तली
झ्यालको पर्दा उघार्दै घुरिरहेको म !
"बा.............. बा !!"
"आमा...................... आमा "
बिर्खेको अबरुद्धता संगै सुन्तलीको हातको ऐना खस्छ
माइली भाउजूको सिन्धूर पुछियो रे .......................

Saturday, May 22, 2010

आज पिउने निर्णय गरें !!

धेरै दिन पछि आज पिउने निर्णय गरें !
एक्लै भए पनि आँफू जिउने निर्णय गरें
तिमीमा हराउदै बाँच्न खोजे तर पाएँ चोटै चोट
त्यहिँ चोट सहेरै आज जिउने निर्णय गरें
तिम्रो अधरका प्याला पिई रम्छु भन्ने गर्थें
बिष भेटें अधरमा तिम्रो नपिउने निर्णय गरें
मेटाउदै प्यास नसाले जिउने निर्णय गरें
सहज तिम्लाई बिर्सन भनी पिउने निर्णय गरें

Thursday, May 20, 2010

सहयात्री !

झुल्के घामको ऐना सरि चम्केऊ तिमी वरि परि !
वसन्तको बहार सरि झुल्येऊ तिमी संधै भरि !
सप्तरंगी इन्द्रेणीका रङ्ग दियेऊ मनै भरि !
लालिगुरांश फूलजस्तै फूल्येऊ तिमी बनै भरि !
मनै भरि तिमी तिमी बनै भरि पनि तिमी !
हाँसो खुसि जे बांडेनी तिम्रै साथ् संधै भरि !

Tuesday, May 18, 2010

हजूर !

मुटुको कुना कुनामा छाया हजुर को !
नसानसा रगतमा माया हजुरको !
चन्चले ति आखा चुलबुले त्यो बानि
कल्पनामै भएपनि मिठो साथ हजुरको!!

Sunday, May 16, 2010

तिम्लाई सजाई दिम्ला !!!

आँखा हेर्दा नजरमा तिमी नाच्न थाल्छेउ
आँखा चिम्ले अधरमा तिम्ले चुम्न थाल्छेउ
मनभरी केवल तिम्रो माया मात्र रह्यो
माछापुच्छ्रे भित्र तिम्रो छाँया मात्र रह्यो
एकान्तमा संधै संधै तिम्रो साथ खोज्छु
बादलको आकृतिले तिम्रो प्यास मेट्छु
चन्द्रमा झैँ मुहार लिई चाँदनी झैँ हास्छेउ
मनमा माया छ कि छैन बाहिर रिस साच्छ्यौ
नदि जस्तै मेरो माया तिम्लाई बहाई दिम्ला
छाडी गए छाती भित्र तिम्लाई सजाई दिम्ला !!!

Saturday, May 15, 2010

अहो भाग्य !!

माया दिनु अभिसाप रे पाउनु अहो भाग्य
दिल दिनु हुदैन रे चोर्नु अहो भाग्य
नदि जस्तै माया पनि तल तिरै बग्छ
मिल्नु थियो एक दिन मिल्यौ अहो भाग्य
हिजो सम्म संगै थियौ आज छुटी गयौ
छुट्नु थियो एक दिन छुट्यौ अहो भाग्य
सम्झना ले संधै भरि सताउने पो थ्यो कि ?
जली सक्यो आत्मा जति बिर्से अहो भाग्य !!!