Custom Search

Thursday, July 9, 2009

हिजो र आज !

मलाई थाहा छ
मैले हिजो प्रतियोगितामा पुरस्कार पाएंथे,
काँधै काँधमा बसी
हुर्रे हुर्रे भन्दै लगाएका जिन्दाबादका नारा सुनेको थिएँ
साँझ भोज भतेर चल्यो ,
भावनाका पत्ताहरू केलाउन पाएं ,
आज हिजोका तिनै मानिस छन
त्यही बाटो छ ,तर आज बाटो सुनसान छ
हिजो यही बाटो घरतर्फ बढ्दै जांदा उत्साह पाएंथे
तर आज म मौन छू
हिजोका सवै अनुहारहरूमा मुस्कान पाएंथे ,
आज सवैका अनुहार आँशुले पखालिएका छन ,
हिजो लगाइएका माला र अभीर
आज मै माथी थुपारिएका छन ,
हिजो चिरंजीवी भएस भन्थे
आज स्वर्ग गएस भन्छन,
हिजोकै जसरी परिवारहरू पिंढिमा छन
हिजो स्वागत गर्दै थिए
आज विदाई
हिजो प्रियाले ओढेको घुम्टो
आज मै माथि ओढाइएको छ ,
सायद घारो माथी रहेछु ,
भावनामा बग्दै थिएँ ,
चिता माथि चढाईएँ
प्रियालाई बोलाउंछु भन्दै थिएँ
आगो लगाई जलाइएँ.