Custom Search

Thursday, October 15, 2009

आमा म पनि देश चलाउँछु !

बिनीता ढकाल
जनताले तिरेको करमा मस्ती गरेर ,
आफ्नो खल्ती भर्न ,
आमा! म पनि देश चलाउँछु
जनता छिंडिमा बाँच्न विवश भएपनी
आफ्नो महलको उचाइ बढाउँछु
आमा! म पनि देश चलाउँछु।
बिकासका निम्ती छुट्याइएको बजेटले
बिदेश भ्रमणमा जान पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराले साइकल नदेखेपनि
मेरो छोरालाई पजेरोमा घुमाउँछु
आमा! म पनि देश चलाउँछु।
आश्वासनका भाषण दिएर,
सत्तामा कब्जा जमाउन पाए
आमा! म पनि देश चलाउँछु
डिग्री पासका सर्टिफिकेट
जलाउन जनता विवश भएपनि
नि।मा।वि पास
भान्जालाई भन्सारको अधिक्रित बनाउँछु
आमा! म पनि देश चलाउँछु।
राष्ट्रिय सम्पत्ति बेचेर घरखर्च चलाउन पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराछोरीले शिक्षा नपाएपनि
आफ्ना सन्तानलाई बिदेशमा पढाउँछु
आमा! म पनि देश चलाउँछु।
विदेशी अनुदानलेछोरीको कन्यादान गर्न पाए
आमा! म पनि देश चलाउँछु
गरिबीको पराकाष्ठामा देश पुगेपनि
आफ्नो कमिसनको रेट बढाउँछु
आमा! म पनि देश चलाउँछु
आमा! म पनि देश चलाउँछु!!!!