Custom Search

Saturday, July 25, 2009

ग़ज़ल

ग़ज़ल


कर्के आँखा धेरै भयो टेडिएरै जाला फेरी
मन भित्र-माया! संगै जेलिएरै जाला फेरी
राम्री भन्दा मात लाग्ला नराम्री 'भो! बात लाग्छ
चामलको बिंयाँ बनी केलिएरै जाला फेरी
दोधारमा धेरै बाँचे मनको गाँठो कसी कसी
लुकिरहूँ भनेपनि छेलिएरै जाला फेरी
आँचलले छेक बरू अधरको कान्ति सवै
भत्किजाला दुनियाँको पिरतीको शान्ति सवै !

Friday, July 24, 2009

ग़ज़ल

रिसाएरै हेरेपनि बारबार हेर्यौ तिम्ले
नाचाहेरै भएपनि प्रेमडोरी बाट्यौ तिम्ले
भन्नलाई त भन्थ्यौ अरे नजाती र छुच्चो भनी
उपहासै गरेपनि मन्को धोको फ़ेर्यौ तिम्ले
घारे हात लगाई लगाई मरोस भनी भन्थ्यौ पनि
नाचाहेरै मुटुभित्र सुन्दर अक्षर कोर्यौ तिम्ले ।

Friday, July 10, 2009

ग़ज़ल

खोजी हिडें संधै भरी फूलको तरेलिमा

भेंटे आज तिम्लाई मैले आफ्नै परेलिमा

प्रभातको रोशनी झै कान्तिमय तिमी

पूर्णिमाको जून जस्तै पूर्ण रूप तिमी

डर लाग्छ कही कोही चोरी लाने होकी ?

आंफ़ै बाट आफ्नै छांया भागी जाने होकी ?

माछापुच्छ्रे

















कति चंचल छ्यौ माछापुच्छ्रे तिमी
वैंश भारिएकी युवती जस्तै
कति सुन्दर छ्यौ माछापुछ्रे तिमी
फक्रिएको गुलाव जस्तै
त्यसैले होला तिमी
कहिले घुम्टो ओढेर नियाल्ने गर्छ्यौ
कहिले लाजै लाग्ने गरेर नितम्व भई जिस्क्याउछ्यौ
तैपनि विशाल छ तिम्रो हृदय
मात्रृवात्सल्यले भरिपूर्ण
कंचन छ तिम्रो माया
विश्वास र स्नेहले परिपूर्ण
त्यसैले त मछापुच्छ्रे तिमीलाई
कहिले पुर्णिमाको जून संग दाँज्न मन लाग्छ
त कहिले फांटहरुमा फुलेका सुनौला फूलहरू संग .

Thursday, July 9, 2009

हिजो र आज !

मलाई थाहा छ
मैले हिजो प्रतियोगितामा पुरस्कार पाएंथे,
काँधै काँधमा बसी
हुर्रे हुर्रे भन्दै लगाएका जिन्दाबादका नारा सुनेको थिएँ
साँझ भोज भतेर चल्यो ,
भावनाका पत्ताहरू केलाउन पाएं ,
आज हिजोका तिनै मानिस छन
त्यही बाटो छ ,तर आज बाटो सुनसान छ
हिजो यही बाटो घरतर्फ बढ्दै जांदा उत्साह पाएंथे
तर आज म मौन छू
हिजोका सवै अनुहारहरूमा मुस्कान पाएंथे ,
आज सवैका अनुहार आँशुले पखालिएका छन ,
हिजो लगाइएका माला र अभीर
आज मै माथी थुपारिएका छन ,
हिजो चिरंजीवी भएस भन्थे
आज स्वर्ग गएस भन्छन,
हिजोकै जसरी परिवारहरू पिंढिमा छन
हिजो स्वागत गर्दै थिए
आज विदाई
हिजो प्रियाले ओढेको घुम्टो
आज मै माथि ओढाइएको छ ,
सायद घारो माथी रहेछु ,
भावनामा बग्दै थिएँ ,
चिता माथि चढाईएँ
प्रियालाई बोलाउंछु भन्दै थिएँ
आगो लगाई जलाइएँ.

Sunday, July 5, 2009

मान्छे !!!

मान्छे !





दाउराको बण्डल ,माटाको मड्केलो
प्रदुषित गगन ,ढलनलले सिंचित करेसावारी
आंधी बेहरीको संगम
वरफ र पानीको सम्मिलन
अनि निर्गन्धा पलासको प्रतिनिधि
लेऊ लागेको उकाली ,
खडेरिमा निर्मित वालुवाको मूर्ति
मुर्दा घोचीरहेको घारो ,
कात्रोले लुकाईएको जीवन्तता
खेती योग्य उर्वर भूमि
अनि हुरिको अपेक्षामा दिशा कुरिरहेको पतझड़
बिश्रृंखलित मोडमा विचलित बादल
प्रत्येक कुटाई पश्चात् सांगीतिक धून दिने मादल
अनि शिशिरमा नाङ्गिएको अस्तित्व
प्रत्येक नजरमै लुटिएका अस्मिताहरू
हावा रुपी आत्मा बोक्ने आशाहरु
अनि पिंजडामा जकडिएका रहरहरु
प्रत्येक मानवका तीता कथाहरू !!!

Sunday, June 21, 2009

हेप्पी डेथ डे टू यू !

हेप्पी डेथ डे टू यू !

असार सोह्रगते मेरो जन्म दिन रे
पोहोर पनि आएथ्यो दिन गन्दा गन्दै
अहिले पनि आयो बर्षै कुरेपछि
असार सत्र गते मेरो हजूरवुवा बित्नुभएको
आजभोली सबैमा एकै कुराको चर्चा पाउंछु
हजुरवुवाको श्राद्ध गर्ने तिथिको वारेमा
संयोग पनि कस्तो कस्तो तिथि हेरफेर भएछ
यसपाली त हजुरवुवाको श्राद्ध पनि असार सोह्र नै परेछ
घरभरी पाहुना छन,परिकारहरु पाक्दैछन पंडीत फलाक्तै छन
यस्तैमा कसैले "हेप्पी बर्थ डे टू यू"
भन्देला भन्ने सोचाइमा मन दगुरिरहेको हुन्छ
त्यतिनै वेला हजुरवुवाको त्यो चाउरि परेको मुहार सम्झन्छु
र मनमनै भन्छु "हेप्पी डेथ डे टू यू ग्र्यान्ड्फादर" !

तैपनि आज निंद्रा परेन

तैपनि आज निन्द्रा परेन !

सायद प्रतिक्षा थियो कसैको
कोहि भेट्ने चाहना थियो मनको
निस्पट्ट छ रात सुनसान छ परिवेश
तैपनि आज निन्द्रा परेन

सायद सम्झना थियो बिगतको
कल्पना थियो भविष्यको
लाटोकोशेराहरू प्रहर परिवर्तनको संकेत गर्दै छन्
तैपनि आज निन्द्रा परेन

सम्झन्छु देश रोएको छ
रत्नपार्क र शिंहदरबार त्यसैको खिल्ली उडाउंदैछ
बिस्तारामा पल्टेकै घन्टौ भयो आँखा पट्ट्याइरहेछ
तैपनि आज निन्द्रा परेन

प्रयास नगरेको पनि होइन
चितवनको भण्डारामा जलेको आशा ब्युझाउने
त्यहि आशा मडारिएको होला मनमा
घडीको एकोहोरो टिक टिक आवाज नि:शव्द बन्दैछ
तैपनि आज निन्द्रा परेन

न्यानो काख,चोखो स्पन्दन जहाँ मेरो भाव अटाओस
मिठो आत्मियता,विश्वासको सामिप्यता जहाँ मेरो चाह मडराओस
बिरानो संसार व्यर्थ कल्पना ........................
रोशनीले क्षितिज नियाल्ने बेला भैसक्यो,
थकित शरिर पल्टेकै छ बिस्तारमा
तैपनि आज निन्द्रा परेन

Monday, June 15, 2009

भालुको रिस खनायो माथि !!!

"भालुको रिस खनायो माथि "





दिमागमा भावनाका तरंगहरु सल्बलाई रहेका हुन्छन् /उर्लिएको आवेशलाई कुनै एक सानो रचानाद्वारा बन्द गरी भावनालाई थन्क्याउन मन लाग्छ/ विषय वस्तुको छनौटले मन आत्तिन्छ / म सोच्छु कथा लेख्छु ,के विषयमा लेख्ने ? सामाजिक ,राजनैतिक वा काल्पनिक ?अझ भनौं आजकलको प्रचलन अनुरुपनै युवा युवती विच प्रेम,मिलन,या बिछोड साथमा कही रोचक मसलाको प्रयोगले सिंगारूं ? हैन म सामाजिक अन्धविश्वाशी कुरीती विरुद्ध केही हद सम्म औल्याँउछु हैन हैन मैले आधुनिक सभ्य भनाउदो समाजको विकृति औल्याँउछु / म यिनै कुराहरुमा हराइहेको हुन्छु /


फेरी म उपन्यास मार्फ़त समग्र मानव जिवनकै कथा लेख्ने निर्णय गर्छु / आखिर उपन्यासको लागी पानी त कथा चाहियो............बरु छोटा छोटा कविता लेख्छु /फेरी प्रश्न श्रृंखला कस्ता कविता ...........के कविता सवै मेरा पाठकले बुझ्छन ?के म कविता मा समग्र समाजको चित्रण गर्न सक्छु ?यस्तैमा सारा आकंक्षा क्षितिज पारी पुगेर हराउंछ्न /अनि अनायासै निर्णय गर्छु कथा लेख्ने /
कथा त लेख्ने तर कुन परिवेस र सन्दर्भ समात्ने ?यस्तैमा विषय को छनोट गर्छु /मन मनै एक कथाको पूर्णता दिन्छु र लेख्न तम्सन्छु / ठीक त्यही वेला मलाई उसको याद आउंछ ,धत कथाको नायक त ऊ स्वयं बनेछ अनि नायिका म आंफु /अचानक अतितको त्यो दिनले झस्कायो ,जून दिन ऊ र म पहिलो पटक भेट भएका थियौं /धेरै बेर सम्म मौनतालाई अंगालोमा बाँधी एक अनौठो तरंगले प्रेम र जीवनको सामूहिक परिभाषा बनाएका थियौं /
तर आज म एकान्तता भित्र मौनताले गिज्याउदै गरेको खिस्सी सहेर बसेकी छू / अनि ऊ के गर्दै छ मलाई थाहा छैन ,सबै वेइज्जती र अपमान सहेर दुराचारी र चरित्रहीन का उपमा हरु मेरा जीवनका उपहार हरु छन ,उसले दिएका / मेरो आफ्नै जीवन कथा कथाको रुपमा पस्किएर मनको पीडालाई खुला किताव बनाउन मेरो आंट आएन / अनि पवित्र सागर जस्तै खुला बनाएर मेरो आत्मा छ्ताछुल्ल पोख्न सकिन / गर्वमा बसिसकेको वच्चालाई सांसारिक जन्जालमा बाँधने घ्रृस्टता गर्न सकिन /गर्वधारण गर्न सक्ने आमा भएर पनि मैले बच्चा जन्माउन सकिन /
आफ्नो जीवनको कथासंग सम्बद्ध भएभन्दै गर्वमै मुस्काउन लागेका शिशुहरू तुहाएं / न अनैतिक सम्बन्ध थियो न बेखुसिको गर्व ?स्वेच्छाले वरण गरेको भ्रूण जव जिन्दगीको शुरुवात गर्न खोज्छ अनि म सम्झन्छु पुरानो छायाँ -उही वलत्कारिको / अनि मेरो कोखवाट जन्मने संपूर्ण वच्चा त्यही वलत्कारिको वच्चा जस्तो लाग्छ /मेरो इच्छा विरुद्ध मलाई गर्ववती बनाइए जस्तो लाग्छ ,त्यो शिशु जस्मा मेरो स्पंदन छ ,धुकधुकी छ ,जसको नसा नसामा मेरो रगत वहेको हुन्छ ,जसको एक मुस्कानमा म सारा संसार भूलना सक्छु र पनि म उसको ह्त्या गर्छु /संधै तर्सन्छु उही हिम्स्रक रूपदेखी अनि सबै मेरा गर्वाशयमा प्रस्फुटित भ्रूण को अन्त्य गर्छु ,न कथा लेख्छु ,न कविता,न उपन्यास नै .........................यी सबै मेरा वलात्क्रित जिन्दगीका संतान हुन अवैध र अनैतिक चरित्रका ((उसको परिभाषामा)) प्राप्ति हुन त्यसैले मैले यिनको रक्षार्थ कुनै कदम चाल्नु हुंदैन वरू वलात्क्रित जिन्दगीको नमूना मेरो गर्वाशयमा बसेको उसको अबैध वीर्य मिल्काउनु छ ,जीवंत समाजको जीवंत प्राणी बनेर जीवन र जगत सापेक्ष वाच्चाहरू जन्माउनु छ / त्यही सोंचको विकास संगै अनि लेख्नुछ कथा ,कविता,उपन्यास ......................................जीवन र जगतको उतर्नु छ चित्रण /

म रोइरहेछु !!!


दुनियाँ सारा खुसीले हाँस्दा म रोइरहेछु
हाँस्छुनै भन्छु म पनि आज मुख खोलिरहेछु

ओंठमा मुस्कान च्यापिनैरदा के सोंचिरहेछु
पिडाले होला खै कुन्नी किन म रोइरहेछु

के सोंचे मैले कल्पना गर्दा तिमीलाई सम्झेछु
के भयो कुन्नी तिमीलाई संझी म रोइरहेछु

छाडेर जाऊ तिमीलाई मैले छातिमा सजाएँ
प्रेमको नाममा कोपिला सानो यसरी फूलाएं

सबैनै जस्तो मानिस एउटा म पनि रहेछु
पग्लेछ क्यारे भावना मेरो म रोइरहेछु !!!

Sunday, May 31, 2009

प्रस्फुटन


यो एउटा नमूना साहित्य समूहको प्रकाशन "प्रस्फुटन"




Monday, April 27, 2009

तिमी आऊ






















तिमी आऊ जसरी पनि आऊ

मेरो मनको मझेरीमा मंजरी पद्मिनी बनेर आऊ

अलिकति मात्रै भएपनि रङ्ग बनेर आऊ

एक मुठ्ठी मात्रै भए पनि ममताको निस्वास लिएर आऊ

एक अंजुली मात्रै भए पनि वात्सल्य लिएर आऊ

जीवनको यात्रामा देउरालीको पर्खाईमा

क्षितिज नियाल्दै टोलाएका यी नयनमा तिमी

अलिकति मात्रै भए पनि आशा बनेर आऊ

एकै पल मात्र जिउँला बरु सँगै

जीवनको भरोसा बनेर आऊ /

Tuesday, April 14, 2009

नयाँ वर्षको शुभकामना !


न त भोकले छोओस , न त परोस प्यासले टर्न
न त लोडसेडिंगले सताओस, न त परोस बन्दले मर्न
न त राजनितिले गालोस, परोस डिभी नै किन
पाओस बेरोजगारिले छुन , न त परोस बेघर नै हुन !

यही नै नव वर्षको शुभकामना !!!

Monday, March 23, 2009

शुभकामना

वसन्तत आयो नै भन्छन
पाखा भरी फूलहरू फूलीसके
ऊराठ लाग्दा पहाडहरू विम्व प्रतीक बन्ने होलान
वैँशालू बन्ने होलान खहरेहरू
सारा धर्ती मगमगाउने छ
नयाँ वर्ष आउनै लाग्यो
शुभकामनाका शव्दहरू आदान प्रदान हुने होलान ?
खै ?
कसरी प्रफ़ूल्लित बन्ने नववर्षको खुशी मानी
न देशको कुरा गरुं न परदेशको
न राष्ट्रको कुरा गरुं न राष्ट्रियताको
ब्यथै ब्यथाले ब्याकूल देशवासी
पिडै पिडाले पीडित परदेशी
खै कसको खुसीमा शुभकामना बाँडू ?
खै के को उन्मादमा खुसियाली माँनू?
प्रचलनको रीत आत्मियताको प्रीत
एउटै मनको गीत
शुभकामना शुभकामना शुभकामना !!!

गीत

कति पर्खें देउरालीमा कति कुरें चौतारीमा !
कति खोजें तिमीलाई मैले जूनको तरेलिमा !!
कुर्दाकुर्दै जुनी बित्यो हेर्दा हेर्दै जोवन !
कसो गरी बुझाऊँ मैले अव मेरै यो मन !!
कोयली गाऊँछे गीत संधै संधै वसन्तमा !
याद आऊँछ तिम्रो संधै संधै एकान्तमा!!

Sunday, March 15, 2009

Nepalis in New York discuss promotion of Nepali literature

Nepalis living in New York organised an interaction to discuss the role of Nepali women Diaspora for the promotion of Nepali literature, art and culture, on Saturday.
The participants of the programme stressed on the need of combined efforts of both men and women in promoting Nepali language, literature and culture in the world.
People from various walks of life participated in the programme titled “Role of Nepali Women Diaspora and Promotion of Nepali Language and Literature” organised at Satya Narayan Temple in Woodside Avenue in Queens of New York by Nepali Women Diaspora.
Coordinator of the orgnisation Ms Kamala Prasai said that the objective of the programme was to promote Nepali language, literature, arts and culture.
The Diaspora honoured Professor Mohan Sitoula for his contributions to Nepali literature and language.
The programme chaired by Professor Laxmi Keshari Manandhar was participated by Bhuvan Sitoula, Diran Prasai, Janardan Thapaliya, Poet Ram Chandra Thapa, Kiran Thapa Rana, Dr. Bina Kansakar, Ganga GC, Mitthu Thapa and Bishal Shah, among others.
Madhuban Paudel, the Deputy Permanent Representative of Nepal to the United Nations was the Chief Guest.

Source: www.nepalnews.com (Mar 01, 09)

Thursday, March 5, 2009

प्रतिबिम्ब !!!


घडी चलिरहेछ
म नियालिरहेछु
घडीको बन्दाकृति भित्र मैले देखिरहेछु
उनी मुसुक्क हाँस्दैछिन्
म उनैसँग बोलिरहेछु
उनैसँग हराइरहेछु
अचानक घडीले घन्टी बजाउँछ
मेरो कल्पना भङ्ग गर्दै
उनी शायद लुक्छिन त्यतिखेर
थाहा छैन मेरो नजर्बाट मात्र लुकिन या अन्तस्करणबाटै
म फेरी नियाल्छु उनैलाई खोज्न थाल्छु
चञ्चल मन्भित्र लुकामारी खेल्न थाल्छु
कोठाभरी उनैको प्रतिबिम्बले मलाई गिज्याइरहेछ

शायद लोचनलाई व्यथा लागेछ
सागर छचल्किएछ
उनी फेरी हराइन
कोठाको परिसरलाई तोड्दै
गगन नियाल्न थाल्छु
निस्पट्ट अँध्यारोछ
पुरै आकाश कालो बादलले ढाकेकोछ
बादलले यस्सो परेली झिम्क्याउँछ
मेरी शशिले संसार चिहाउन खोज्छिन
मुसुक्क हाँस्छिन्
म त रोइरहेछु
आँशु पुछ्दै उनको हाँसोमा हाँसो मिलाउन खोज्छु
बिजुली चम्कन्छ, मेघ गर्जन्छ
कल्पना तोडिदिन्छ
कल्पनाको बिस्फोटनसँगै कोठाभरी अन्धकार छाउँछ
बाहिर पानी पर्न थाल्छ
शायद मन अति नै रोएछ क्यार
अश्रुधारा धेरै बगेछ
घडीभित्रको प्रतिबिम्ब
क्षितिज पारी पुगी हराएछ
अत्रिप्त मनसँगै मेरो घडी भोकाएछ
ऊ त लुपुक्क निदाएछ
शायद उसलाई चोट परेछ, आघात परेछ
सहनकै निम्ती आँखा चिम्लेछ
आफुसँगै मेरी मायालुको
प्रतिबिम्बलाई पनि विलिन बनाएछ ।
***
इन्दु शर्मा

Tuesday, February 24, 2009

त्यसैको प्रतिविम्व

म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी


सुडौल पिडुँला के छोप्नु ,


मीनिस्कर्टले पनि अल्झाउछ मलाई


सायद आधुनिक भएरै होला साथी


तृष्णा तीर्खाले बल्झाउछ मलाई


महल र मोजमस्ती नै माया भन्ने गर्छु


सानै उमेरदेखि यौबनको प्यास मेट्ने गर्छु


म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी!!

Monday, February 16, 2009

मन लाग्यो!

मलाई पनि मेरो माया साट्न मन लाग्यो !
प्रेम डोरी छिटो छिटो बाट्न मन लाग्यो !!
हिजो सम्म थाहै थेन,जाने कहाँ कुरै थेन !
धेरै यात्रा लामा लामा काट्न मन लाग्यो!!
भोली फेरी कहाँ जाने सोच्ने मन छैन!
तिमी बिना मलाई अव बाँच्न मन छैन!!

Sunday, February 1, 2009

चोइली






कती हाँस्ने कती टाँस्ने
खल्ती सबै रित्ती सके
कती जाँच्ने कती नाच्ने
आँगन सबै भत्किसके ।