Custom Search

Thursday, October 22, 2009

ग़ज़ल

खोटोसिक्का सरि भा-छु जिन्दगीको मोड भरि
सम्झिएर रुनु पर्ने अतीतलाई घरि घरि
घाऊ लाग्यो मुटु भरि मन भरि चोट पर्यो
त्यहि चोटले छट्पटिदै रोइ रा-छु सँधै भरि
दोबाटोमा तिमी आयौ बोलाएको थेन क्यारे
तिमीसंगै हिड्छु भनी सपना देखें थरि थरि
छाडेऊ हात तिम्लेपनि दोष नाना लगाई लगाई
त्यहि दोषको रापले होला जलिराछु सँधै भरि
माग्यौ तिमीले दिएँ सबै भए भरको रित्तो पारि
जाने बेला किन कुन्नि आखाँ थिए भरि भरि !!!

Thursday, October 15, 2009

आमा म पनि देश चलाउँछु !

बिनीता ढकाल
जनताले तिरेको करमा मस्ती गरेर ,
आफ्नो खल्ती भर्न ,
आमा! म पनि देश चलाउँछु
जनता छिंडिमा बाँच्न विवश भएपनी
आफ्नो महलको उचाइ बढाउँछु
आमा! म पनि देश चलाउँछु।
बिकासका निम्ती छुट्याइएको बजेटले
बिदेश भ्रमणमा जान पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराले साइकल नदेखेपनि
मेरो छोरालाई पजेरोमा घुमाउँछु
आमा! म पनि देश चलाउँछु।
आश्वासनका भाषण दिएर,
सत्तामा कब्जा जमाउन पाए
आमा! म पनि देश चलाउँछु
डिग्री पासका सर्टिफिकेट
जलाउन जनता विवश भएपनि
नि।मा।वि पास
भान्जालाई भन्सारको अधिक्रित बनाउँछु
आमा! म पनि देश चलाउँछु।
राष्ट्रिय सम्पत्ति बेचेर घरखर्च चलाउन पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराछोरीले शिक्षा नपाएपनि
आफ्ना सन्तानलाई बिदेशमा पढाउँछु
आमा! म पनि देश चलाउँछु।
विदेशी अनुदानलेछोरीको कन्यादान गर्न पाए
आमा! म पनि देश चलाउँछु
गरिबीको पराकाष्ठामा देश पुगेपनि
आफ्नो कमिसनको रेट बढाउँछु
आमा! म पनि देश चलाउँछु
आमा! म पनि देश चलाउँछु!!!!

Friday, October 9, 2009

केवल एउटा श्रृजनाको लागी

दिमागमा भएका सबै शब्द चाङ्ग मिलाई मिलाई
एक शब्द समीकरण बनाउछु
शब्द भण्डार अलि संकोचित बनेको छ आज भोलि
सायद भावना संगै बग्ने मन कतै अल्झेको छ
मनको डोरी माया बनि बल्झेको छ
अनि शब्द समीकरण परिवर्तन गर्न खोज्छु
शुत्र र शिद्धान्त हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
तल्लिन हुन्छु ,समर्पित हुन्छु
सँधै प्रयत्नशिल
एउटा श्रृजनाको लागि
शब्द कोषका पानाहरु विचरण गर्छु
प्रतिक र बिम्बले श्रृजना सिंगार्न मन लाग्छ
श्रृजनै श्रृजनाको खात लगाएर बिसिस्ट बन्न मन लाग्छ
तैपनि खै किन हो कुन्नि मनको तस्विर मनमै रहन्छ
तस्विर संग मिल्ने कुनै शब्दै भेट्टाउन्न
मानौ शब्दकोषमा भएका शब्द हरु मनको तस्विर संग सुहाउन्नन
अझ भनौ कुनै त्यस्तो शब्दै छैन जसले मेरो मनको प्रतिबिम्बको बर्णन गरोस
न उनको सुन्दरता न उनको स्वच्छन्दता
बिना अर्थ शब्दकोशका पानाहरु शिथिल बनाउछु
बिना प्राप्ति शब्द समीकरण हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
केवल उनको बर्णनको लागि
अफसोच
न प्राप्ति न उपलब्धि !!!

Thursday, October 8, 2009

जीवन र दर्शन !!

जीवन एउटा दर्शन हो
जुन प्रतिपादन हुन्छ लागु हुँदैन
समाज
मात्र संरचना
अस्तित्व रित्तिएको अस्तिपञ्जर
बाद र पथ को डोरीमा अल्झिएको सुर्कने गाँठो
जति तन्कन्छ उति कसिन्छ ,उसको बिशेसता नै यस्तै
ऊषाकालिन किरण जस्तै प्रभावशाली छ आदर्श
जसको असर औंशीको निस्पट्टता लाई छिचोल्न खोज्छ
संधै शरदमा बसन्त खोज्छ जीवन
वसन्तमा पनि सुखी छैन ऊ बर्सात चाहन्छ
किन किन सार्है असन्तुस्ट देखिन्छ जीवन ?
त्यहि जीवन जीवन हरुको होलि खेलेर
आदर्श ,समाजमा परिवर्तन ल्याउछुँ भन्छ
अनि जीवन कुन्नि किन त्यहि आदर्शको पछी पछी
असन्तोष बोकेर छाँया जस्तै भौतारिन्छ
म्रिगतृष्णा छरपस्ट बगर भरि बलुवा मा खेलिरहन्छ
खै कस्तो जीवन अनि खै कस्तो आदर्श
उपमै उपमाको बाढी छ
प्रतिकै प्रतीकको पहाड छ
सपनै सपनाको भुमरी छ
आशै आशाको फूलवारी !!!




Wednesday, September 30, 2009

ग़ज़ल



सपनीमा आउछ्यौ तिमी अनायासै घरि घरि
एकै छिन आंउदा पनि किन हेर्छयौ आँखा तरि
माया गर्नु पापै भए गरें एउटा महा पाप
सपनीमै ज्युछुं बरु आइदेउ तिमी घरि घरि
सुन्दर छ्यौ संयम पनि सपनीमा भेट्दा भने
देख्छु तिम्रो कलि रुप बिपनीमा घरि घरि
छैन माया भने भन फर्की हेर्नु छैन पनि
धिक्कारेर ज्युनु पर्ला जिन्दगीलाई सधै भरि !!

Sunday, September 27, 2009

माछापुच्छ्रे र धर्मं

अखवारको हेड्लाईन के छ थाहा छैन
हर्के कुर्लन्छ
(ल आयो हजुर आजको ताजा खबर ...............)
बुज्रुकहरू आतुर आतुर पत्रिका किन्छन
एक बुज्रुक समाचार सार सुनाउछन
सवै जना उनीप्रति ध्यानाक्रित गर्छन
कोहि हो मा हो मिलाउछन
प्रभाती सान्ध्य प्रहरको लालीत्यले माछापुच्छ्रे मुस्काउदै थियो
एक टुक्रा बादल उड्दै आयो र बिलायो पनि
"आफुंहरुले जे गरेपनि हुने अरुलाई यसो र त्यसो "
भड्किलो आवाज ले जमिन थर्क्यो
माछापुच्छ्रे मुख छोपेर लाज ढाक्दै थियो
तर थाहा थिएन , उसको सर्वाङ्ग नाङ्गो आकृती
मुख छोप्दैमा छोपिदैन भनेर
यौबन को उन्माद लिएर ठडिएको माछापुच्छ्रे
त्यहि उन्माद बोकेर झरेका अतृप्त बैंशालु नदिहरु
कतिको प्यास मेट्दैछन ?
कतिको तृष्णा पखाल्दैछन्?
एक बृद्ध लौराको सहारा ले सडक पार गर्दै हुन्छन
एक हुल मानिस नारा जुलुस सहित सडक भरि हुन्छन
हुलमुलमा बिचरा बृद्ध व्यक्ति आफ्नो लौरो गुमाउछन
माछापुच्छ्रे ठडिएकै छ ,उ पग्लिएकै छ
मानौ -ठडिनु उसको कर्तव्य हो ठडिदिन्छ
पग्लिनु उसको धर्म हो पग्लिदिन्छ
कसैले भोगोस या प्यास मेटोस
ऊसलाई के वास्ता
किनकि वास्ता गर्नु उसको धर्मै होइन
चासो लिनु उसको कर्मै होइन !!!

Friday, September 18, 2009

मेरो मन !

मेरो मन
स्वस्छन्द आकाशमा चरा जस्तै उड्न खोज्यो
चट्याङ्को झोक्काले पखेटा काट्यो
पखेटा काटिएपछि पनी त मेरो मनले यात्रा रोकेन
जमिनमा घस्री घस्री हिडिरह्यो
थाहा छैन मलाई उसको गंतब्य
थाहा छैन उसको लक्ष
के का लागी क्षितिजमा पुग्यो
र अहिले घिस्रदै छ ?
कतै लड़दै कतै चढ्दै बढिरह्यो यात्राकै निम्ति
खोला झैं बग्ने मन झरना झैं झर्यो
हिमाल झैं स्थिर मन पानी झैं बग्यो
आखिर मन न हो ,रोकेर कहाँ रोकिंदो रहेछ र ?
माया बनी कसैको प्रतिबिम्बमा खनियो
माया र मन उस्तै हुंदा रहेछन क्यारे
बग्दै जाने सकिदै जाने
आज ,मायाले खै कुन्नी के उपलव्धि पाएछ ?
मन झैं उड्न लागेछ
न कुनै बाधा छ न कुनै मोड़
रेखीय मोड़ सरल-बक्र
सुनें मायाले माया पायो रे
तर मनले ?
बिना लक्षमा हिडेको मन रोक्न खोंजे
बिना प्रप्तिमा रम्ने मन छेक्न खोंजे
तर
म त रित्तो रहेछु
मायाले पाएको माया संगै -मेरो मनको डोरी चुँडिएछ
म त मन बिहीन बनेछु
रित्तो केवल रित्तो !!!

Saturday, July 25, 2009

ग़ज़ल

ग़ज़ल


कर्के आँखा धेरै भयो टेडिएरै जाला फेरी
मन भित्र-माया! संगै जेलिएरै जाला फेरी
राम्री भन्दा मात लाग्ला नराम्री 'भो! बात लाग्छ
चामलको बिंयाँ बनी केलिएरै जाला फेरी
दोधारमा धेरै बाँचे मनको गाँठो कसी कसी
लुकिरहूँ भनेपनि छेलिएरै जाला फेरी
आँचलले छेक बरू अधरको कान्ति सवै
भत्किजाला दुनियाँको पिरतीको शान्ति सवै !

Friday, July 24, 2009

ग़ज़ल

रिसाएरै हेरेपनि बारबार हेर्यौ तिम्ले
नाचाहेरै भएपनि प्रेमडोरी बाट्यौ तिम्ले
भन्नलाई त भन्थ्यौ अरे नजाती र छुच्चो भनी
उपहासै गरेपनि मन्को धोको फ़ेर्यौ तिम्ले
घारे हात लगाई लगाई मरोस भनी भन्थ्यौ पनि
नाचाहेरै मुटुभित्र सुन्दर अक्षर कोर्यौ तिम्ले ।

Friday, July 10, 2009

ग़ज़ल

खोजी हिडें संधै भरी फूलको तरेलिमा

भेंटे आज तिम्लाई मैले आफ्नै परेलिमा

प्रभातको रोशनी झै कान्तिमय तिमी

पूर्णिमाको जून जस्तै पूर्ण रूप तिमी

डर लाग्छ कही कोही चोरी लाने होकी ?

आंफ़ै बाट आफ्नै छांया भागी जाने होकी ?

माछापुच्छ्रे

















कति चंचल छ्यौ माछापुच्छ्रे तिमी
वैंश भारिएकी युवती जस्तै
कति सुन्दर छ्यौ माछापुछ्रे तिमी
फक्रिएको गुलाव जस्तै
त्यसैले होला तिमी
कहिले घुम्टो ओढेर नियाल्ने गर्छ्यौ
कहिले लाजै लाग्ने गरेर नितम्व भई जिस्क्याउछ्यौ
तैपनि विशाल छ तिम्रो हृदय
मात्रृवात्सल्यले भरिपूर्ण
कंचन छ तिम्रो माया
विश्वास र स्नेहले परिपूर्ण
त्यसैले त मछापुच्छ्रे तिमीलाई
कहिले पुर्णिमाको जून संग दाँज्न मन लाग्छ
त कहिले फांटहरुमा फुलेका सुनौला फूलहरू संग .

Thursday, July 9, 2009

हिजो र आज !

मलाई थाहा छ
मैले हिजो प्रतियोगितामा पुरस्कार पाएंथे,
काँधै काँधमा बसी
हुर्रे हुर्रे भन्दै लगाएका जिन्दाबादका नारा सुनेको थिएँ
साँझ भोज भतेर चल्यो ,
भावनाका पत्ताहरू केलाउन पाएं ,
आज हिजोका तिनै मानिस छन
त्यही बाटो छ ,तर आज बाटो सुनसान छ
हिजो यही बाटो घरतर्फ बढ्दै जांदा उत्साह पाएंथे
तर आज म मौन छू
हिजोका सवै अनुहारहरूमा मुस्कान पाएंथे ,
आज सवैका अनुहार आँशुले पखालिएका छन ,
हिजो लगाइएका माला र अभीर
आज मै माथी थुपारिएका छन ,
हिजो चिरंजीवी भएस भन्थे
आज स्वर्ग गएस भन्छन,
हिजोकै जसरी परिवारहरू पिंढिमा छन
हिजो स्वागत गर्दै थिए
आज विदाई
हिजो प्रियाले ओढेको घुम्टो
आज मै माथि ओढाइएको छ ,
सायद घारो माथी रहेछु ,
भावनामा बग्दै थिएँ ,
चिता माथि चढाईएँ
प्रियालाई बोलाउंछु भन्दै थिएँ
आगो लगाई जलाइएँ.

Sunday, July 5, 2009

मान्छे !!!

मान्छे !





दाउराको बण्डल ,माटाको मड्केलो
प्रदुषित गगन ,ढलनलले सिंचित करेसावारी
आंधी बेहरीको संगम
वरफ र पानीको सम्मिलन
अनि निर्गन्धा पलासको प्रतिनिधि
लेऊ लागेको उकाली ,
खडेरिमा निर्मित वालुवाको मूर्ति
मुर्दा घोचीरहेको घारो ,
कात्रोले लुकाईएको जीवन्तता
खेती योग्य उर्वर भूमि
अनि हुरिको अपेक्षामा दिशा कुरिरहेको पतझड़
बिश्रृंखलित मोडमा विचलित बादल
प्रत्येक कुटाई पश्चात् सांगीतिक धून दिने मादल
अनि शिशिरमा नाङ्गिएको अस्तित्व
प्रत्येक नजरमै लुटिएका अस्मिताहरू
हावा रुपी आत्मा बोक्ने आशाहरु
अनि पिंजडामा जकडिएका रहरहरु
प्रत्येक मानवका तीता कथाहरू !!!

Sunday, June 21, 2009

हेप्पी डेथ डे टू यू !

हेप्पी डेथ डे टू यू !

असार सोह्रगते मेरो जन्म दिन रे
पोहोर पनि आएथ्यो दिन गन्दा गन्दै
अहिले पनि आयो बर्षै कुरेपछि
असार सत्र गते मेरो हजूरवुवा बित्नुभएको
आजभोली सबैमा एकै कुराको चर्चा पाउंछु
हजुरवुवाको श्राद्ध गर्ने तिथिको वारेमा
संयोग पनि कस्तो कस्तो तिथि हेरफेर भएछ
यसपाली त हजुरवुवाको श्राद्ध पनि असार सोह्र नै परेछ
घरभरी पाहुना छन,परिकारहरु पाक्दैछन पंडीत फलाक्तै छन
यस्तैमा कसैले "हेप्पी बर्थ डे टू यू"
भन्देला भन्ने सोचाइमा मन दगुरिरहेको हुन्छ
त्यतिनै वेला हजुरवुवाको त्यो चाउरि परेको मुहार सम्झन्छु
र मनमनै भन्छु "हेप्पी डेथ डे टू यू ग्र्यान्ड्फादर" !

तैपनि आज निंद्रा परेन

तैपनि आज निन्द्रा परेन !

सायद प्रतिक्षा थियो कसैको
कोहि भेट्ने चाहना थियो मनको
निस्पट्ट छ रात सुनसान छ परिवेश
तैपनि आज निन्द्रा परेन

सायद सम्झना थियो बिगतको
कल्पना थियो भविष्यको
लाटोकोशेराहरू प्रहर परिवर्तनको संकेत गर्दै छन्
तैपनि आज निन्द्रा परेन

सम्झन्छु देश रोएको छ
रत्नपार्क र शिंहदरबार त्यसैको खिल्ली उडाउंदैछ
बिस्तारामा पल्टेकै घन्टौ भयो आँखा पट्ट्याइरहेछ
तैपनि आज निन्द्रा परेन

प्रयास नगरेको पनि होइन
चितवनको भण्डारामा जलेको आशा ब्युझाउने
त्यहि आशा मडारिएको होला मनमा
घडीको एकोहोरो टिक टिक आवाज नि:शव्द बन्दैछ
तैपनि आज निन्द्रा परेन

न्यानो काख,चोखो स्पन्दन जहाँ मेरो भाव अटाओस
मिठो आत्मियता,विश्वासको सामिप्यता जहाँ मेरो चाह मडराओस
बिरानो संसार व्यर्थ कल्पना ........................
रोशनीले क्षितिज नियाल्ने बेला भैसक्यो,
थकित शरिर पल्टेकै छ बिस्तारमा
तैपनि आज निन्द्रा परेन

Monday, June 15, 2009

भालुको रिस खनायो माथि !!!

"भालुको रिस खनायो माथि "





दिमागमा भावनाका तरंगहरु सल्बलाई रहेका हुन्छन् /उर्लिएको आवेशलाई कुनै एक सानो रचानाद्वारा बन्द गरी भावनालाई थन्क्याउन मन लाग्छ/ विषय वस्तुको छनौटले मन आत्तिन्छ / म सोच्छु कथा लेख्छु ,के विषयमा लेख्ने ? सामाजिक ,राजनैतिक वा काल्पनिक ?अझ भनौं आजकलको प्रचलन अनुरुपनै युवा युवती विच प्रेम,मिलन,या बिछोड साथमा कही रोचक मसलाको प्रयोगले सिंगारूं ? हैन म सामाजिक अन्धविश्वाशी कुरीती विरुद्ध केही हद सम्म औल्याँउछु हैन हैन मैले आधुनिक सभ्य भनाउदो समाजको विकृति औल्याँउछु / म यिनै कुराहरुमा हराइहेको हुन्छु /


फेरी म उपन्यास मार्फ़त समग्र मानव जिवनकै कथा लेख्ने निर्णय गर्छु / आखिर उपन्यासको लागी पानी त कथा चाहियो............बरु छोटा छोटा कविता लेख्छु /फेरी प्रश्न श्रृंखला कस्ता कविता ...........के कविता सवै मेरा पाठकले बुझ्छन ?के म कविता मा समग्र समाजको चित्रण गर्न सक्छु ?यस्तैमा सारा आकंक्षा क्षितिज पारी पुगेर हराउंछ्न /अनि अनायासै निर्णय गर्छु कथा लेख्ने /
कथा त लेख्ने तर कुन परिवेस र सन्दर्भ समात्ने ?यस्तैमा विषय को छनोट गर्छु /मन मनै एक कथाको पूर्णता दिन्छु र लेख्न तम्सन्छु / ठीक त्यही वेला मलाई उसको याद आउंछ ,धत कथाको नायक त ऊ स्वयं बनेछ अनि नायिका म आंफु /अचानक अतितको त्यो दिनले झस्कायो ,जून दिन ऊ र म पहिलो पटक भेट भएका थियौं /धेरै बेर सम्म मौनतालाई अंगालोमा बाँधी एक अनौठो तरंगले प्रेम र जीवनको सामूहिक परिभाषा बनाएका थियौं /
तर आज म एकान्तता भित्र मौनताले गिज्याउदै गरेको खिस्सी सहेर बसेकी छू / अनि ऊ के गर्दै छ मलाई थाहा छैन ,सबै वेइज्जती र अपमान सहेर दुराचारी र चरित्रहीन का उपमा हरु मेरा जीवनका उपहार हरु छन ,उसले दिएका / मेरो आफ्नै जीवन कथा कथाको रुपमा पस्किएर मनको पीडालाई खुला किताव बनाउन मेरो आंट आएन / अनि पवित्र सागर जस्तै खुला बनाएर मेरो आत्मा छ्ताछुल्ल पोख्न सकिन / गर्वमा बसिसकेको वच्चालाई सांसारिक जन्जालमा बाँधने घ्रृस्टता गर्न सकिन /गर्वधारण गर्न सक्ने आमा भएर पनि मैले बच्चा जन्माउन सकिन /
आफ्नो जीवनको कथासंग सम्बद्ध भएभन्दै गर्वमै मुस्काउन लागेका शिशुहरू तुहाएं / न अनैतिक सम्बन्ध थियो न बेखुसिको गर्व ?स्वेच्छाले वरण गरेको भ्रूण जव जिन्दगीको शुरुवात गर्न खोज्छ अनि म सम्झन्छु पुरानो छायाँ -उही वलत्कारिको / अनि मेरो कोखवाट जन्मने संपूर्ण वच्चा त्यही वलत्कारिको वच्चा जस्तो लाग्छ /मेरो इच्छा विरुद्ध मलाई गर्ववती बनाइए जस्तो लाग्छ ,त्यो शिशु जस्मा मेरो स्पंदन छ ,धुकधुकी छ ,जसको नसा नसामा मेरो रगत वहेको हुन्छ ,जसको एक मुस्कानमा म सारा संसार भूलना सक्छु र पनि म उसको ह्त्या गर्छु /संधै तर्सन्छु उही हिम्स्रक रूपदेखी अनि सबै मेरा गर्वाशयमा प्रस्फुटित भ्रूण को अन्त्य गर्छु ,न कथा लेख्छु ,न कविता,न उपन्यास नै .........................यी सबै मेरा वलात्क्रित जिन्दगीका संतान हुन अवैध र अनैतिक चरित्रका ((उसको परिभाषामा)) प्राप्ति हुन त्यसैले मैले यिनको रक्षार्थ कुनै कदम चाल्नु हुंदैन वरू वलात्क्रित जिन्दगीको नमूना मेरो गर्वाशयमा बसेको उसको अबैध वीर्य मिल्काउनु छ ,जीवंत समाजको जीवंत प्राणी बनेर जीवन र जगत सापेक्ष वाच्चाहरू जन्माउनु छ / त्यही सोंचको विकास संगै अनि लेख्नुछ कथा ,कविता,उपन्यास ......................................जीवन र जगतको उतर्नु छ चित्रण /

म रोइरहेछु !!!


दुनियाँ सारा खुसीले हाँस्दा म रोइरहेछु
हाँस्छुनै भन्छु म पनि आज मुख खोलिरहेछु

ओंठमा मुस्कान च्यापिनैरदा के सोंचिरहेछु
पिडाले होला खै कुन्नी किन म रोइरहेछु

के सोंचे मैले कल्पना गर्दा तिमीलाई सम्झेछु
के भयो कुन्नी तिमीलाई संझी म रोइरहेछु

छाडेर जाऊ तिमीलाई मैले छातिमा सजाएँ
प्रेमको नाममा कोपिला सानो यसरी फूलाएं

सबैनै जस्तो मानिस एउटा म पनि रहेछु
पग्लेछ क्यारे भावना मेरो म रोइरहेछु !!!

Sunday, May 31, 2009

प्रस्फुटन


यो एउटा नमूना साहित्य समूहको प्रकाशन "प्रस्फुटन"




Monday, April 27, 2009

तिमी आऊ






















तिमी आऊ जसरी पनि आऊ

मेरो मनको मझेरीमा मंजरी पद्मिनी बनेर आऊ

अलिकति मात्रै भएपनि रङ्ग बनेर आऊ

एक मुठ्ठी मात्रै भए पनि ममताको निस्वास लिएर आऊ

एक अंजुली मात्रै भए पनि वात्सल्य लिएर आऊ

जीवनको यात्रामा देउरालीको पर्खाईमा

क्षितिज नियाल्दै टोलाएका यी नयनमा तिमी

अलिकति मात्रै भए पनि आशा बनेर आऊ

एकै पल मात्र जिउँला बरु सँगै

जीवनको भरोसा बनेर आऊ /

Tuesday, April 14, 2009

नयाँ वर्षको शुभकामना !


न त भोकले छोओस , न त परोस प्यासले टर्न
न त लोडसेडिंगले सताओस, न त परोस बन्दले मर्न
न त राजनितिले गालोस, परोस डिभी नै किन
पाओस बेरोजगारिले छुन , न त परोस बेघर नै हुन !

यही नै नव वर्षको शुभकामना !!!